नेपालगन्ज २९ मंसिर : नेपाली काँग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । बुधबार अबेर रातिसम्म भएको मतगणना अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका हुन् ।
देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार झिनो अन्तरले पराजित भए । उपसभापतिमा विजयी खड्का हाल महामन्त्री थिए भने गुरुङ केन्द्रीय सदस्य थिए । गुरुङले मतगणनाको सुरुमा अग्रता लिन सफल भएका थिए । तर, गणना मध्यमा पुगेपछि गच्छदार अघि बढेका थिए । यस्तोमा अन्तिम अवस्थामा गुरुङले बाजी मारेका हुन् ।
निर्वाचन समितिका अनुसार खड्काले २१२१ र गुरुङले १९०८ मत पाए । त्यस्तै गच्छदारले १९०६, चन्द्र भण्डारीले १५८०, प्रकाशमान सिंह पक्षबाट उम्मेदवारी दिएकी सुजाता कोइरालाले ६४४, उपसभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका महेश आचार्यले ५८९ र विमलेन्द्र निधि पक्षबाट उम्मेदार बनेकी दिव्यश्वरी शाहले १३२ मत पाए ।
उपसभापतिको दौडमा गच्छदार तेस्रो हुँदा देउवा प्यानलका चन्द्र भण्डारी चौथो भएका छन् । उपसभापतिमा मिश्रित परिणाम आएपछि महामन्त्रीमा पनि यस्तै हुन सक्ने आँकलन गरिएको छ । यही सोमबार भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।