नेपालगन्ज १ पुस : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत महामन्त्री पदको मतगणना पार्टी कार्यालय सानेपामा जारी रहेको छ ।
काँग्रेसको नयाँ नेतृत्वसहितको केन्द्रीय कार्यसमिति चयनका लागि सोमबार भृकुटीमण्डपमा मतदान भएको थियो भने मतपेटिका पार्टी कार्यालयमा लगेर राखिएको थियो ।
पार्टी कार्यालय सानेपामा जारी मतगणनामा नेपाली काँग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।
पार्टी कार्यालय, सानेपामा आज विहानदेखि शुरु भएको गणनामा ५०० मत गन्दा थापाले ३२५ मत ल्याएका छन् भने विश्वप्रकाश शर्माले १८५ मत पाएका छन् ।
प्रदीप पौडेलले १७७, प्रकाशशरण महतले १६३, मिनेन्द्र रिजालले ८६ र डाक्टर राजाराम कार्कीले १२ मत पाएका छन् ।
काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउँछन् । अर्थात एक मतपत्रमा दुई जनालाई भोट हाल्न पाइन्छ ।
यसअघि सभापति र उपसभापति पदको मतगणना गरेर आजदेखि महामन्त्री पदको मतगणना थालिएको हो । महामन्त्रीको दौडमा गगन–विश्वप्रकाशसहित ६ जना उम्मेदवार छन् । जसमा डाक्टर प्रकाशशरण महत, डाक्टर मिनेन्द्र रिजाल, प्रदीप पौडेल र डाक्टर राजाराम कार्की पनि छन् ।