नेपालगन्ज १ पुष : नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका डाक्टर मिनेन्द्र रिजालले सक्रिय राजनीतिबाटै अलग हुन सक्ने बताएका छन् । भारी मतान्तरले पराजित भएलगत्तै रक्षामन्त्रीबाट राजीनामा दिएका रिजालले यस विषयमा सोँचेर निर्णय गर्ने बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएपछि मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘मलाई जे राजनीतिक पुँजी आवश्यक थियो, महाधिवेशनको परिणामले त्यो नरहेको देखायो । नेपाली काँग्रेसका लागि गर्नुपर्ने कामका लागि त्यो पुँजी उपलब्ध नहुँदाखेरि मेरा प्रयासहरु निरर्थक हुनेछन्, भन्ने लागेर पनि यो निर्णय गरेको हुँ ।’
एक हजार मतगणना हुँदैगर्दा पछि परेका रिजालले राजीनामा दिने निर्णय सामाजिक सञ्जालमार्फत यसअघि सार्वजनिक गरेका थिए । ‘१८–१९ सय मत गनिसकेपछि श्रीमतीलाई घर आऊ चाँडै भनेर बोलाएँ । त्यसपछि उनीसँग सल्लाह गरेर राजीनामा दिने निर्णय सुनाएँ । त्यसमा उनको पनि सहमति भयो,’ रिजालले भने, ‘सचिवजी र केही शीर्ष नेताहरुले त मलाई राजीनामा दिन आवश्यक छ र भनेर सोध्नु भएको थियो ।’
रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले फोन गरेर राजीनामा दिन आवश्यक छ र भनेर सोधेको उनले बताए । भोलिका दिनमा अरु नेताले पनि सोच्ने बाटो बनोस् भनेर राजीनामा दिएको रिजालले बताए ।
६५ वर्षीय रिजाल पछिल्लो १८ वर्षदेखि निरन्तर नेपाली काँग्रेसको केन्द्रीय समितिमा थिए । तर, यो उमेरमा जबर्जजस्ती राजनीतिमा उभिइरहनुपर्छ भन्ने सोँच बनाउनु उचित नहुने र महाधिवेशनको परिणामले पनि स्पष्ट रुपमा सन्देश दिएको उनले बताए । ‘आजको दिनमा मिनेन्द्र रिजाल एकाएक हरायो भने पनि मिनेन्द्र रिजाल काम नलाग्ने मान्छे थियो हरायो, बेस भयो, भन्ने भाव बाँकी रहन्न होलाजस्तो लाग्छ मलाई । मान्छे राम्रै हो, भइदिएको भए हुन्थ्यो नै भन्नु हुन्छ होला,’ रिजालले भने ।
मोरङ क्षेत्र नम्बर २ का जनताले जिताएर पठाएकाले यो संसद् रहेसम्म कसरी क्रियाशील रहने भन्ने कुरा अर्को विषय भएको उनको भनाइ छ । सुरुमा शशांक कोइरालालाई सभापतिमा उठाउनु पर्ने पक्षमा रहेका रिजाल पछि रामचन्द्र पौडेललाई सभापतिको उम्मेद्वार बनाउनु पर्ने पक्षमा थिए । तर अन्तिम समयमा शेखरको प्यानलबाट महामन्त्रीमा उठेका थिए । तर, प्यानलभित्रै आफूलाई असहयोग भएको संकेत उनले गरे ।
पराजित भए पनि उनले वर्तमान कार्यसमितिमा सन्तोषजनक नेतृत्व आएको बताए । काँग्रेसको शीर्ष तहमा धेरै नेताहरु भएकाले महाधिवेशनले त्यसलाई सफा गरेको बताए । आफूले राजनीति छाड्ने निर्णय गरे पनि काँग्रेस आफूभन्दा राम्रो व्यक्तिको हातमा पुगेको उनको भनाइ थियो ।
‘एक वर्षअगाडि नै गगनलाई भनेको थिएँ– भाइ एउटै पदमा लड्छौँ, हारेँ भने पनि मभन्दा सक्षम, मलाई भन्दा बढीले पत्याएको मान्छेलाई जिम्मा लाएर जान्छु । त्यही भाव विश्वप्रकाश शर्माप्रति पनि छ’, रिजालले भने । उनले सार्वजानिक पदमा रहने बताएपनि राजनीतिभित्र वा बाहिर कहाँ रहने भन्नेबारे निर्णयमा छिट्टै पुग्ने उनको भनाइ छ ।
उनले प्रतिनिधिसभाको कार्यकाल रहँदासम्म सरकारलाई प्रतिनिधिसभा सदस्यको हैसियतले सहयोग गरिरहने पनि बताए । रिजालले महाधिवेशनमा पार्टीभित्र आफ्नो समर्थनको आधार अत्यन्त संकुचित भएकाले मन्त्री पदबाट राजीनामा दिएको बताए । महामन्त्रीमा पराजित उनले यही कुरालाई हृदयङ्गम गर्दा मन्त्री पदमा बसिरहनु नैतिक रुपमा उपयुक्त नहुने भएकाले राजीनामा दिएको प्रधानमन्त्रीलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ ।