एमसीसिका बुँदा परिमार्जन भए मात्र पारित हुन्छ : नेकपा एस अध्यक्ष नेपाल

‘व्यक्तिबादी प्रबृत्तिले आफ्नो पार्टीमा ठाउँ पाउदैन’


एमसीसिका बुँदा परिमार्जन भए मात्र पारित हुन्छ : नेकपा एस अध्यक्ष नेपाल

नेपालगन्ज २ पुष : पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको हितमा हुने कुनै पनि सहयोग स्वीकार्य हुने बताएका छन् । अनेरास्ववियुको प्रथम लुम्बिनी प्रदेश अधिवेशनलाई शुक्रबार नेपालगन्जमा सम्बोधन गर्दै नेपालले देशको हितमा नहुने सहयोग कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।

एमसिसीबारे भइरहेका बहस र चर्चाको प्रसंग निकाल्दै उनले विदेशी सहयोग लिँदा देशको हित विपरित देखिने केही त्यस्ता बुँदा भए तिनको पनि संशोधन गर्न आवश्यक हुने बताए । अध्यक्ष नेपालले एमसिसी परिमार्जनसहित पारित हुनुपर्नेमा आफुहरु प्रष्ट भएको बताए । नेपाल कुनैपनि प्रकारको सैन्य गठबन्धनमा सामेल हुदैन, अध्यक्ष नेपालले भने–‘हामी कसैको पनि सुरक्षा घेरामा बस्न चाहदैनौं ।’

नेकपा हुँदा पार्टीले समिति गठन गरेको र समितिको प्रतिवेदन आएको भन्दै उनले एमसिसीबारे आफुहरु स्पष्ट भएको बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन टुटाएमा एमसिसीलाई समर्थन गर्ने भन्दै सार्वजनिक धारणाको आलोचना गरे ।

ओलीप्रति कटाक्ष गर्दै नेपालले ओलीले एमालेलाई पार्टीको रुपमा नभई प्राईभेट लिमिटेड जसरी सञ्चालन गरेको दावी गरे । एमालेमा ओलीले आफुलाई ‘बा’ भन्ने सामन्ती र ब्यक्तिवादी सँस्कार विकास गरेको भन्दै उनले आफ्नो पार्टी संस्कारी भएको दाबी गरे ।

Kanti Aarogya Hospital Nepalgunj

व्यक्तिबादी प्रबृत्तिले आफ्नो पार्टीमा ठाउँ नपाउने दाबी गर्दै नेपालले भने–‘एमालेमा ‘बा’ प्रबृत्ति छ, केपी ओलीलाई ‘बा’ मान्ने सामन्ती संस्कार छ, तर, हाम्रो पार्टीमा ‘कमरेड’ भन्ने संस्कार छ, उनले भने–‘एमाले केपी ओलीको निजी कम्पनी हो, पार्टी होइन ।’

अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी क्रान्तिकारी र परिवर्तनकामी पार्टी भएको जिकिर समेत गरे । उनले विद्यार्थी नेताहरुलाई विद्यार्थीको आकर्षणको केन्द्र बन्ने दिशामा अग्रसर रहन आग्रह गरे । अधिवेशनलाई सम्बोधन गर्दै सहरी विकास मन्त्री एवम् नेकपा एकीकृत समाजबादीकी सचिव रामकुमारी झाँक्रीले दबाब र जागरणको अभियान निरन्तर जारी राख्न विद्यार्थीहरुलाई अपील गरिन् ।

विद्यार्थी आन्दोलनको औचित्य नसकिएको भन्दै झाँक्रीले जातीय, बर्गीय, लैंगिक, शैक्षिक विभेद रहँदासम्म विद्यार्थी आन्दोलनको औचित्य नसकिने स्पष्ट पारिन् । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सचिव भागवत बिश्वासी, मेटमणी चौधरी, दलबहादुर सुनार, अव्दुल हुसेन खाँ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, महासचिव आरती लामा लगायतले आफ्ना विचार राखेका थिए । अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष टेकेन्द्र मल्लका अनुसार सम्मेलन शनिबार सम्पन्न हुनेछ ।

कार्यक्रम उद्घाटन सकिए लगत्तै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बाँकेको परसपुर– गौघाट सडकको अनुगमन गरेकी थिइन् । सोक्रममा उनले उक्त सडक निर्माणमा आफ्नो मन्त्रालय वा सम्बद्ध मन्त्रालयसंग समन्वय गरेर बाटो निर्माण गर्ने बताइन् ।

शुक्रबार उक्त सडक खण्डको अनुगमन पश्चात् स्थानीयसंग कुराकानी गर्दै सडक निर्माणको लागि आफुले पहल गर्ने उनले बताएकी हुन् । लामोसमयसम्म धुलाम्य रहेको परसपुर– गौघाट सडक खण्डको करिब १० किलोमीटर बाटो कालोपत्रे हुन बाँकी छ ।

यसैबीच, मोटरसाईकल दुर्घटनामा परि घरमै आराम गरिरहेका युवा नेता किशोर थापाको निवासमा पुगेर पुर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले स्वास्थ्य लाभको कामना गरे । नेकपा एस बाँकेका उपसचिव युवा संघका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष थापाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र स्वास्थ्य लाभको कामना गर्न नेपाल थापाको नेपालगन्जस्थित निवासमा पुगेका थिए ।