नेपालगन्ज ८ पुष : नेपाली काँग्रेसको केन्द्रिय बैठक आगामी पुष गते १० शनिबार बस्ने भएकोछ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रिय समितिको पहिलो बैठक बस्न लागेको हो ।
काँग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले यही पुष १० गते केन्द्रिय समितिको बैठक बस्ने जानकारी दिए ।
आज सबै केन्द्रिय सदस्यहरुको मतपरिणाम आइसक्ने र त्यसपछि बैठक व्यवस्थापनको तयारी शुरु हुने पौडेलले सुनाए । अब आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रिय सदस्यहरुका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।
मंसिर २४–२७ सम्म भएको काँग्रेसको १४ औं महाधिवेशनमा १३४ पदका लागि निर्वाचन भएको थियो ।
बुधबारसम्म दलिततर्फसहित १०६ पदको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म सार्वजनिक १३ पदाधिकारीसहित ९७ पदमध्ये संस्थापन समूहले दुई तिहाइ बढी पदमा जित हासिल गरेको छ । काँग्रेसको विधान बमोजिम निर्वाचित केन्द्रिय सदस्यबाट सभापतिको प्रस्तावमा एकजना कोषाध्यक्षलाई मनोनित गरिने छ भने सभापतिले थप ३३ केन्द्रीय सदस्य मनोनित गर्न पाउनेछन् ।