नेपालगन्ज ८ पुष : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले राष्ट्र प्रमुखको रुपमा संवैधानिक राजसंस्था र जनताले प्रत्यक्ष चुनेको कार्यकारी प्रधानमन्त्री आवश्यक रहेको बताएका छन् । बिहीबार दाङको तुलसीपुरमा लुम्बिनी प्रदेशको विस्तारित बैठकमा सहभागि भएका अध्यक्ष लिङ्देनले सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देलले राप्रपा अब किनेर सांसद र मन्त्री हुनुपर्ने गलत व्यवस्थाको विरूद्धमा उभिने बताए ।
लिङ्देनले कम्युनिष्ट र काँग्रेसले देशलाई बन्धक बनाएको टिप्पणी गर्दै भने ‘देश काँग्रेस–कम्युनिष्टहरुको बन्धक बनेको छ । यीनिहरुले तीन दशकदेखि मुलकमा लुटतन्त्र मच्चाइरहेकाछन्, र त्यसको साक्षी जनता भन्दा को हुन सक्छ ?’
२०४६ सालपछि लोकतन्त्र र गणतन्त्रका नाममा देशलाई भष्ट्राचारमा डुबाउने काम भएको भन्दै लिङ्देनले भने, ‘वाइडबडी काण्डदेखि बालुवाटार जग्गा प्रकरणसम्म हरेक दल मुछिएका छन् ।’ कम्युनिष्ट र काँग्रेसले सिन्डिकेट लगाएर देश लुटेको उनको जिकिर छ ।
अध्यक्ष लिङ्देलले राप्रपा अब किनेर सांसद र मन्त्री हुनुपर्ने गलत व्यवस्थाको विरूद्धमा उभिएकोछ । पैसा खर्चेर पदमा पुगेपछि सांसद र मन्त्रीहरूले ‘देश लुटे’ भन्दै उनले व्यवस्थामै सुधार गर्न जरुरी रहेको बताए ।
‘अब सबभन्दामाथि राष्ट्र प्रमुखको रूपमा राजसंस्था हुनुप¥यो र जनताले सोझै निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री हुनुप¥यो,’ अध्यक्ष लिङ्देलले भने, ‘संसद पूर्ण समानुपातिक र सांसदहरू मन्त्री हुन नपाउने व्यवस्था लागू हुनुपर्छ ।’
देशले दिने सेवा सुविधा जातको आधारमा नभई गरिबले पाउने व्यवस्थाको हुनुपर्ने उनले बताए । संवैधानिक अंगहरूमा नियुक्ति योग्यता र क्षमताको आधारमा गर्ने गरी नयाँ ढंगले अगाडि बढ्नु पर्ने उनको जोड थियो ।लिङ्देनले ठूला–ठूला सपना देखाएर जनतालाई गाईबस्तुजस्तो ठानेको टिप्पणी गरे । ‘जनता कुनै पार्टीको गाईबस्तु होइनन्’ उनले अगाडी थपे, ‘अब परिवर्तन चाहने हो भने जनताहरुले काँग्रेस, एमाले र माओवादीको दाम्लो चुडालेर राप्रपाको अभियानलाई साथ दिनुपर्छ ।’
‘हिजो एउटा राजाकै कारण देश बनेन भनेर राजा फालियो’ उनले भने, ‘अहिले धेरै राजाहरु जन्मिएर देश बर्बादीमा पुग्यो ।’ संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र फाल्न नचाहे पनि गिरिजा, माधव नेपाल र प्रचण्डले बदमासी गरेको उनले भनाइ थियो ।
देशमा गणतन्त्र आएको १४ वर्षको अवधिमा काँग्रेस एमालेले देशको कुनै पनि स्थानमा पाँच हजारले रोजगारी पाउने गरी उद्योगधन्दा स्थापित गर्न नसकेको र उनीहरूले भएका कलकारखानाहरू निजीकरणको नाममा बेचेर खाने काम मात्रै गरेको उनले दाबी गरे । काँग्रेस, एमाले र माओवादीमा सबै पुरानै अनुहार आएको हुँदा ती सबैबाट परिवर्तन सम्भव नभएको भन्दै उनले विकल्पकको रुपमा राप्रपा आएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधान, महामन्त्री एवम नेपालगन्जका मेयर डाक्टर धवलशमशेर जबरा लगायतले नेपाली काँग्रेस, कम्युनिष्टजस्ता दलहरूले लोकतन्त्र र गणतन्त्रको नाममा देशलाई बन्धक बनाएको आरोप लगाएका थिए ।
राप्रपाले महाधिवेशनपछि लुम्बिनी प्रदेशस्तरीय प्रथम विस्तारित बैठक तुलसीपुरमा गरेको छ । बैठकका लागि राप्रपा अध्यक्ष लिङ्देनसहितको टोली नेपालगन्ज हुँदै दाङ गएको थियो ।