नेपालगन्ज १३ पुष : नेकपा एमाले बाँकेको आगामी हुने अधिवेशनका लागि जिल्ला अध्यक्षमा बाँकेका ४ नेताले दावी गरेका छन् ।
आगामी पुष २३ गते नेपालगन्जमा हुन लागेको एमाले बाँकेको अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । जिल्ला निर्वाचनको मिति नजिकिदैँ जाँदा एमाले बाँकेको अध्यक्षका लागि अहिलेसम्म ४ जनाले आकांक्षा देखाएका छन् । यद्यपी अन्य आकांक्षी खुलेका छैनन् ।
एमाले अध्यक्षका लागि निरक गुरुङ, किष्मतकुमार कक्षपति, रत्न खत्री र डिल्ली बिसीले अध्यक्ष पदमा दावी गरिरहेका छन् । यी चार जना मध्ये एमाले बाँकेको अध्यक्षमा कस्ले बाजी मार्ला ? भनेर आम नेता, कार्यकर्ता वृत्तमा चर्चा भइरहेको छ ।
गुरुङ एमाले बाँकेका वर्तमान अध्यक्ष हुन् । एमालेको सातौं अधिवेशनबाट उनी उपाध्यक्षमा निर्वाचित भएका थिए । तत्कालिन अध्यक्ष अशोक कोइराला नेकपा (एकिकृत समाजवादी) तिर गएपछि पार्टीले १० बुँदे सहमति कार्यान्वयन स्वरुप गुरुङलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको थियो ।
यस्तै कक्षपति एमाले बाँकेका वर्तमान उपाध्यक्ष हुन् । उनी यसअघि पार्टीको प्रचार विभाग प्रमुख थिए । कक्षपतिलाई पनि पार्टीले भर्खरै मात्र उपाध्यक्षको जिम्मेवारी दिएको हो । उनी खजुरा गाउँपालिका अध्यक्ष पनि हुन् ।
यस्तै विद्यार्थी राजनीतिबाट बाँकेको राजनीतिमा सक्रिय रहेका खत्री एमाले बाँकेका सचिव हुन् । पार्टीकौ छैठौं अधिवेशनमा उपसचिवमा निर्वाचित भएका खत्री सातौं जिल्ला अधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए । उनी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्ववियु सभापति समेत भएका थिए ।
यसैगरी युवा नेता विसी एमाले बाँकेको जिल्ला कमिटी सदस्य हुन् । पत्रकारितासँगै राजनीतिमा छिरेका उनी हाल एमाले निकट प्रेस चौतारी नेपालको केन्द्रिय सल्लाहकार पनि हुन् ।
विसी पार्टीको केन्द्रिय प्रचार विभाग सदस्यको जिम्मेवारीमा पनि छन् । पार्टीको नेतृत्व हाँक्न आफुहरु योग्य रहेको चारै जना आकांक्षीले आ–आफ्नो दाबी गरिरहेकाछन् । यद्यपी आफ्नो यो दाविमा कति सफल हुनेछन् भन्ने एमाले बाँकेको जिल्ला अधिवेशनले टुङ्गो लगाउनेछ ।