नेपालगन्ज १३ पुषः आगामी पुष २७ गते बाँके काँग्रेसको हुने जिल्ला निर्वाचनले यतिबेला बाँकेमा चुनावी सरगर्मी छाएकोछ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत स्थागित गरिएको बाँके काँग्रेसको निर्वाचन यही पुस २७ गते हुदैँछ ।
यसअघि पनि बाँकेमा निर्वाचनको सरगर्मी बढिरहेका बेला प्रदेश अधिवेशनका कारण स्थगित भएको थियो । नेपाली काँग्रेस केन्द्रिय निर्वाचन समितिले बाँकेसहित १६ जिल्लामा पुस २७ गते निर्वाचन गर्ने निर्णय गरेपछि पुनः सरगर्मी बढेको हो ।
काँग्रेस बाँकेको जिल्ला निर्वाचनमा सभापति पदका लागि अहिलेसम्म ७ जनाले आकांक्षा देखाएका छन् । सभापति पदका लागि देउवा पक्षका ६ जना र शेखर कोइराला पक्षका एक जनाले आकांक्षा देखाएका हुन् ।
संस्थापन (देउवा) पक्षबाट लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री समेत रहेका सुरेन्द्र हमाल, पुर्वसभासद बादशाह कुर्मी, सुनिलनरसिंह राणा, निरन्जनसिंह सिजापति, राजकुमार बर्मा र लक्ष्मीनारायण शाहले आकाक्षा ब्यक्त गरेका छन् । यस्तै संस्थापन इतर (कोइराला) पक्षबाट नारायणप्रसाद गौडेल मात्र आकांक्षा ब्यक्त गरेकाछन् ।
यद्यपी देउवा पक्षका बादशाहले मात्रै औपचारिकरुपमा आफ्नो उम्मेदवारी घोषणा गरेकाछन् । १३ औं महाधिवेशनमा सिजापति किरण कोइरालासँग पराजित भएका थिए, भने गौडेल र शाह तेस्रो तथा चौथो नम्बरमा आएका थिए ।
जिल्ला नेतृत्वका लागि अहिलेसम्म आधा दर्जन आकांक्षी देखिएपनि अन्तिम समयमा संयुक्त रुपमा प्यानल बनाएर चुनावी मैदानमा होमिने संस्थापन (देउवा) पक्षको रणनीति छ । संस्थापन इतर (कोइराला) पक्षले भने गौडेलको नेतृत्वमा एकल प्यानल बनाउने तयारी गरिरहेको छ । उक्त पक्षले कतिपय पदमा उम्मेदवार निश्चित गरेपनि केहीमा नाम थप्न बाँकी रहेको नेताहरु बताउँछन् ।
देउवा पक्षका हमाल, कुर्मी, सिजापति, राणा, वर्मा र शाहले केन्द्रिय सभापति शेरबहादुर देउवासँग परामर्श गरेर मात्र चुनावमा अगाडी बढ्ने बताएका छन् ।
नेपाली काँग्रेस बाँकेको वडा तहदेखी तीन वटै क्षेत्रसम्मको निर्वाचन परिणाम हेर्दा बाँकेमा देउवा पक्षको बलियो पकट रहेको देखिन्छ । जिल्लाका ८१ वटै वडाबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधीको संख्या हेर्दा संस्थापन पक्षको झण्डै दोब्बर बढी मत रहेको काँग्रेस नेता, कार्यकर्ता बताउँछन् । जिल्ला नेतृत्व आफ्नो आउने लगभग निश्चित जस्तै भएपछि देउवा पक्षका आकांक्षी धेरै बढेको बताइन्छ ।