बाँके काँग्रेसमा बढ्यो चहल–पहल, आकांक्षीहरु उम्मेदवारीका लागि लविङमा ब्यस्त


बाँके काँग्रेसमा बढ्यो चहल–पहल, आकांक्षीहरु उम्मेदवारीका लागि लविङमा ब्यस्त

नेपाली काँग्रेस बाँकेको कार्यालयमा बुधबार उपस्थित भएका नेता, कार्यकर्ता ।

नेपालगन्ज १४ पुषः नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको निर्वाचन नजिकिएसँगै चहल पहल बढेको छ । नेपाली काँग्रेस केन्द्रिय निर्वाचन समितिले यही पुस २७ गतेका दिन बाँकेसहित १६ जिल्लाको निर्वाचन तोकिसकेको छ । यसअघि प्रदेश अधिवेशनका कारण केन्द्रिय निर्वाचन समितिले बाँकेसहित १६ जिल्लाको निर्वाचन अचानक स्थगित गरेको थियो ।

काँग्रेसको प्रदेश र केन्द्रिय निर्वाचन सम्पन्न भइसकेपछि निर्वाचन समितिले बाँकी रहेका जिल्लामा निर्वाचन गराउने तयारी गरेको हो । जिल्लाको निर्वाचन मिति नजिक आएसँगै बाँकेमा काँग्रेस नेता, कार्यकर्तामा उत्साह थपिएको छ । उम्मेदवारी टुंगो लागिसकेका ब्यक्तिहरु मतदाता भेटघाटमा ब्यस्त हुन थालेका छन्, भने टुंगो लाग्न बाँकी रहेका ब्यक्तिहरु आफ्नो उम्मेदवारीका लागि लविङमा जुटेका छन् ।

काँग्रेस पार्टी कार्यालय मात्र नभएर चोक र चिया पसलमा समेत यतिबेला काँग्रेस निर्वाचनको चर्चा हुन थालेको छ । काँग्रेस नेता कार्यकर्ता मात्र नभएर सर्बसाधारण नागरिकले समेत काँग्रेसको निर्वाचन र अब आउने नेतृत्वबारे चासो राख्ने गरेका छन् ।

केहीदिन यता पार्टी कार्यालयमा नेता, कार्यकर्ताको चहल पहल ह्वात्तै बढेकोछ । सभापतिदेखी जिल्ला कार्यसमिति सदस्य सम्मका आकांक्षीहरु पार्टी कार्यालयमा पुगेर भेटघाट गरिरहेका छन् । पार्टी कार्यालय र बाहिर काँग्रेस निर्वाचनकै चर्चा हुने गरेको छ । १४ औं अधिवेशनबाट पार्टीको जिल्ला नेतृत्वमा कस्लाई पुर्याउने भन्नेमा नेता, कार्यकर्ताबीच गहन छलफल हुने गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

‘पार्टीको निर्वाचन नजिक आइरहेको हुनाले नै होला, पार्टी कार्यालयमा धेरै नै चहल पहल बढेको छ,’ एक कार्यकर्ताले भने ‘पार्टीलाई हाँक्न सक्ने क्षमता भएको र आम कार्यकर्ताको दुःख र पीडा बुझ्ने सरल ब्यक्तिलाई यसपाली नेतृत्वमा ल्याउनुपर्छ भन्नेमा सबैजसो नेता र कार्यकर्ताको धारणा छ ।’ निर्वाचनले सभापतिसहित उपसभापति, सचिव र सह–सचिवमा २/२ जना तथा कार्यसमिति सदस्य निर्वाचित गर्नेछ ।

यसैबीच, आगामी पुष २७ गते हुने नेपाली काँग्रेस बाँकेको जिल्ला अधिवेशनमा हालसम्म सभापति शेरबहादुर देउबा समूहबाट ६ जना र नेता डाक्टर शेखर कोइराला समूह (संस्थापन इतर) बाट एक जनाले सभापतिमा दाबी गरेका छन् ।

नारायण गौडेल कोइराला समूहका एक मात्र उम्मेदवार हुन् । गौडेल नेतृत्वको समूहले पदाधिकारीका उम्मेदवार पनि लगभग टुंग्याइसकेको छ । उपसभापतिमा गौडेल समूहबाट गोपालप्रसाद अधिकारी र राजकुमार मौर्यले उम्मेदवारी दिने भएका छन् । सचिवमा सुधांशु कोइरालाले उम्मेदवारी दिँदैछन् । दुई जना सचिव निर्वाचित हुने भएकाले अर्को एक जना सचिव भने टुंगिन बाँकी छ । त्यसका लागि गौडेल समूह छलफलमै छ ।

कृष्ण विके रसाइली र आशिष काफ्ले मध्ये कोही एक जना पनि सचिवको उम्मेदवार बन्न सक्ने सम्भावना रहेपनि छलफल र परामर्शमा टीम रहेकोछ । पूर्ण आचार्य पनि सचिवका सम्भावित उम्मेदवार हुन् । यस्तै थारु समुदायकै कोही एक जना सचिवको उम्मेदवार हुन सक्ने सम्भावना पनि छ । काँग्रेस पार्टी कार्यालयमा भेटिएकी रेणु सिंहले आफ्नो उम्मेदवारी सहसचिवमा दिने बताइन् । उनले भनिन् सहसचिवमा मेरो उम्मेदवारी दावि छ । लगभग मेरो उम्मेदवारी पक्का छ । यस्तै सहसचिवमा विश्व लम्साल हुन सक्ने बताइन्छ ।

यस्तै देउवा समूहमा सभापतिका धेरै आकांक्षी भएकाले कोही उम्मेदवारले पनि पदाधिकारीहरुको बारेमा बोल्न चाहेका छैनन् । सबैले आन्तरिक रुपमै तयारी गरि आ–आफ्नो समुहमा क–कसलाई कुन–कुन पदमा उम्मेदवार बनाउने भन्ने तयारीमा जुटेकाछन् ।

यो समूहबाट ६ जना सभापतिका आकांक्षी भएपनि सम्भवतः सहमतिमा देउवा पक्षबाट एक जना सभापतिको उम्मेदवार बनाइनेछ । यो पनि सम्भव भएन भने दुई या तीन जना प्रतिष्पर्धामा उत्रिन सक्ने अनुमान रहेको काँग्रेस बाँकेका एक नेताले बताए ।

सुरेन्द्र हमाल, बादशाह कुर्मी, निरञ्जनसिंह सिजापति, राजकुमार बर्मा, सुनिलनरसिंह राणा र लक्ष्मीनारायण शाह सभापतिका आकांक्षी हुन् । यो समूहबाट अन्तिममा सभापतिका उम्मेदवार को बन्छ, त्यसकै आधारमा पदाधिकारीको उम्मेदवारी तय हुनेछ ती नेताले बताए ।

उपसभापतिमा सुरेन्द्रनाथ सापकोटाले आफ्नो उम्मेदवारी घोषणा गरिसकेकाछन् । लगभग उनी देउवा पक्षबाटै उम्मेदवार बन्ने पक्का भएकोछ । यस्तै मेघराज ओली, निरज चलाउने, रुद्रबहादुर ओली पदाधिकारीमा आकांक्षी देखिए पनि कुन पदमा उम्मेदावरी दिने अझैं निक्र्यौल भइसकेको छैन ।

देउवा समुहबाटै सापकोटा उपसभापति, मेघराज र चलाउने उपसभापति वा सचिव र रुद्र सचिवका आकांक्षी हुन् ती नेताले भने ।

काँग्रेस पार्टी कार्यालयमा भेटिएका हालका जिल्ला कार्यसमिति सदस्य पुरनसिंह ठकुरीले सहसचिवमा आफ्नो दावि गरेको बताए । सोही अनुसार उम्मेदवारी घोषणा गरेको र आफ्नो प्रचारप्रसार गरिरहेको उनले सुनाए ।
रविन्द्र हमालले पनि उपसभापतिमा इच्छा देखाएका छन् । सुदीपनरसिंह राणाको पनि पदाधिकारीमा आकांक्षा देखिएको छ ।

काँग्रेस बाँकेको कार्यालयमा भेटिएका अर्का एक नेताले भने बाँके काँग्रेस निर्वाचनमा पहिलो चरणकै निर्वाचनमा कसैले पनि बहुमत ल्याउन सक्दैनन् । बाँके काँग्रेसले सभापति पाउन दोस्रो चरणको निर्वाचन कुर्नै पर्छ । निर्वाचन धेरै नै प्रतिस्प्रर्धी हुने भएकाले जसले कडा मेहनत गर्न सक्यो त्यही नै सभापतिमा बाजी हान्छ ।