नेपालमा प्रेस स्वतन्त्रता हननका घटना बढे : महासंघ

एक वर्षमा कोरोनाबाट २१ जना पत्रकार र सञ्चारकर्मीले ज्यान गुमाए


नेपालमा प्रेस स्वतन्त्रता हननका घटना बढे : महासंघ

नेपालगन्ज १६ पुष : नेपाल पत्रकार महासंघले सन् २०२१ मा नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रहेको जनाएको छ । महासंघका महासचिव रोशन पुरीका अनुसार तुलनात्मक रूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हननका घटना बढेका छन् ।

नेपाल पत्रकार महासंघको अभिलेखअनुसार सन् २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए भने सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ बिहान ११ बजेसम्म ६२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । ६२ वटा घटनामा १९० जना पत्रकार पीडित भएका छन् भने ४ सञ्चारमाध्यम प्रभावित हुन पुगेका छन् ।

यस वर्ष पत्रकारमाथि ३२ वटा धम्की तथा दुर्व्यवहारका घटना भएका छन् । पेशागत असुरक्षा तथा कब्जा र अवरोधका १०–१० वटा घटना भएका छन् । यसैगरी पत्रकार आक्रमणका ५ वटा घटना भएका छन् । भने पत्रकार गिरफ्तारीका ४ वटा घटना भए तथा नीतिगत बन्देजको १ घटना भएको महासंघको अभिलेखमा छ ।

‘समग्रमा यो वर्ष पनि समाचारका विषयलाई लिएर वा समाचार संकलनमा क्रममा विभिन्न पक्षबाट भएका धम्की, आक्रमण, दुव्र्यवहारलगायतका घटनाबाट पत्रकार तथा सञ्चारमाध्यम पीडित हुन पुगेका छन्,’ महासचिव पुरीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचार, अनियमिततालगायतका समाचार लेख्दा वा प्रसारण गर्दा पत्रकार र सञ्चारमाध्यमले यस्तो समस्या बेहोर्नु परेको छ ।’

Kanti Aarogya Hospital Nepalgunj

संसद्, संसदीय समितिका बैठक, मन्त्रीहरूको सपथग्रहण वा विभिन्न राजनीतिक दलका महाधिवेशनलगायतमा पत्रकारलाई समाचार संकलनका क्रममा अवरोध गरिने तथा रोक लगाउने गरिएको महासंघले जनाएको छ ।
त्यस्तै यो वर्ष संघ, प्रदेश र स्थानीय सरकारबाट प्रेसविरोधी प्रावधानसहितका सञ्चारसम्बन्धी विभिन्न कानूनहरू बनाउने तथा संसदमा दर्ता गर्ने काम भएको महासंघले जनाएको छ ।

संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्तताविरुद्ध रहेका विचाराधीन यी कानूनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाईसमेत चुनौती थपिदिएको महासंघको ठहर छ ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट यो वर्ष पनि पत्रकार प्रभावित भएका छन् । महामारी सुरु भएसँगै अहिलेसम्म २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन् । त्यसमध्ये सन् २०२१ मा २१ जना पत्रकार तथा सञ्चारकर्मीको ज्यान गएको छ ।

महासंघले कोरोना महामारीको बहानामा पत्रकारको पेशागत सुरक्षा प्रभावित हुन पुगेको पनि उल्लेख गरेको छ । एक वर्षको अवधिमा कोरोना भाइरसको बहाना देखाएर विभिन्न सञ्चारगृहबाट ३५० जना पत्रकारलाई नियमित तलब नदिने, बेतलवी विदामा राख्ने र जागिरबाट निष्कासन गर्ने काम भएको छ ।