काठमाडौँ : स्थानीय जनताको सूचनाको कारण विप्लव समूहको चौकी आक्रमण असफल भएको छ । आइतबार राती हतियारहित पुगेका विप्लव समूहका २५-३० जना कार्यकर्ताले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकी कब्जाको प्रयास गरेका थिए ।
तर, गएराति १२ बजे स्थानीयले हतियारसहित प्रहरी चौकीतर्फ गइरहेको विप्लव समूहलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपछि प्रहरी हतियार लगेर सुरक्षित स्थानमा गएर बसेको थियो । असईको नेतृत्वमा त्यहाँ सात जना प्रहरी कार्यरत थिए ।
मध्यराति पुगेका विप्लव समूहका हतियारधारी कार्यकर्ताले चौकीमा पुलिस नदेखेपछि खानतलासी गरेका थिए । उनीहरु बिहान ३ बजेसम्म त्यही क्षेत्रमा रहेको सुरक्षा अधिकारीहरुले बताएका छन् । हतियार लुट्न आएका उनीहरु त्यहाँ केही नपाएपछि रित्तै फर्किएका छन् ।
राति चौकी छाडेर भागेका प्रहरी बिहान ७ बजेमात्रै चौकीमा फर्किएका थिए । प्रहरी चौकी निकै दुर्गम स्थानमा पर्छ । सदरमुकामदेखि करिब २५ कोस टाढा रहेको गाउँ विकट भएपछि सुरक्षाकर्मीको सहज उपस्थिति छैन ।
गाउँमा सवारी साधन समेत पुगेको छैन । शंकास्पद गतिविधि रहेको सूचनापछि केन्द्रबाट ९ जना र प्रदेश नम्बर १ विराटनगरबाट २० जनाको सशस्त्र प्रहरी बलको विशेष टोली परिचालन गरिएको प्रवक्ता डिआईजी सुरज श्रेष्ठले जानकारी दिए । त्यो सँगै नेपाल प्रहरीको थप टोली पनि घटनास्थल पुगेको छ ।
नेपाल प्रहरी र सशस्त्रको संयुक्त टोलीले हतियारधारी समूहविरुद्ध ‘सर्च एण्ड अरेस्ट’ अपरेसन सुरु गरेको छ । यसअघि सेनापनि त्यहाँ गएको भनिएपनि जंगी अड्डाले सेना परिचालन नभएको दाबी गरेको छ । सेनाको हेलिकप्टरमार्फत प्रहरी र सशस्त्रको टोली गएको बताइएको छ ।
-दैनिक नेपालबाट