पृथ्वी जयन्तीका विषयमा गठबन्धनमा छलफल गर्छु : प्रधानमन्त्री


पृथ्वी जयन्तीका विषयमा गठबन्धनमा छलफल गर्छु : प्रधानमन्त्री

नेपालगन्ज १८ पुष : ‘पृथ्वी जयन्ती’ (२७ पुस) का दिन विदा दिने विषयमा सत्ता गठबन्धनमा कुराकानी गर्ने वचन प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएका छन् । सो दिन विदा दिन माग गर्दै ज्ञापनपत्र दिन आएको अध्यक्ष लिङ्देनसहितको प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले यस्तो वचन दिएका हुन् ।

१६ पुसमा बसेको राप्रपा केन्द्रीय पदाधिकारी बैठकले २७ पुसमा पर्ने ‘राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती’ का दिन राष्ट्रिय विदा घोषणा गर्न ज्ञापनपत्र दिने निर्णय गरेको थियो । सोही बमोजिम अध्यक्ष थापा लगायत पार्टीका नेताहरु प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउन आईतबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका थिए ।

‘राष्ट्र एकीकरणका नायकलाई कुनै पनि वाद, विवाद र सिद्धान्त भन्दा माथि राखेर उनको जन्म जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदा कसैको आस्था र विश्वास माथि चोट नपुग्ने’ दाबी राप्रपाको ज्ञापनपत्रमा उल्लेख छ । यही कारण पुष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन, उक्त दिन सार्वजनिक विदा दिन तथा नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्नुपर्ने माग पनि राप्रपाले ज्ञापनपत्रमार्फत गरेको छ ।

ज्ञापनपत्रमा २०७४ सालमा देउवा नै प्रधानमन्त्री हुँदा सरकारले सार्वजनिक विदा दिने भनी गरेको निर्णय उपयुक्त रहेको र जनस्तरले स्वागत गरेको उल्लेख गरिएको छ । उक्त निर्णय नगरिए राप्रपाले देशव्यापी विरोध आयोजना गर्ने चेतावनी पनि दिइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

ज्ञापन पत्र बुझाउने कार्यक्रममा सहभागी राप्रपा केन्द्रीय सदस्य मोहन श्रेष्ठका अनुसार प्रधानमन्त्री देउवाले यस सम्बन्धी निर्णय सत्ता गठबन्धनमा सहभागी राजनीतिक दलहरुसँग सल्लाह गरेरमात्र गरिने जवाफ राप्रपालाई दिएका छन् ।

‘२०७४ मा म प्रधानमन्त्री भएका बेला भिन्दै परिस्थिति थियो’ देउवाको भनाई उदृत गर्दै श्रेष्ठले भने, ‘तर, अहिले गठबन्धन सरकार छ । यस विषयमा निर्णय गर्न अन्य दलको पनि सहमति चाहिन्छ । यसका लागि म सत्ता गठबन्धनमा सहभागी दलहरुसँग पनि सल्लाह गर्नेछु ।’

२०७४ मा सार्वजनिक विदा दिने निर्णय गर्दा देउवा नेतृत्वको सरकारमा राप्रपा पनि सहभागी थियो । राप्रपाको तर्फबाट तत्कालिन अध्यक्ष कमल थापा सरकारमा उपप्रधानमन्त्री थिए ।

देउवा नेतृत्वको सो सरकारमा माओवादी केन्द्रसमेत सामेल भएपनि एमाले–माओवादी केन्द्रबीच चुनावी गठबन्धनका कारण माओवादी केन्द्रका मन्त्रीहरुले मन्त्रिमण्डलबाट राजीनामा दिएका थिए । तर, उनीहरुको राजीनामा स्वीकृत भने भएको थिएन ।

सरकारमा नेपाली काँग्रेस र राप्रपा मात्र सहभागी भएका कारण उपप्रधानमन्त्री थापाको जोडबलमा प्रधानमन्त्री देउवाले सो निर्णय गरेका थिए । श्रेष्ठका अनुसार, ज्ञापनपत्र बुझाउने सन्दर्भमा भएको सो भेटका अवसरमा प्रधानमन्त्री देउवा र अध्यक्ष लिङ्देनबीच आ–आफ्नो पार्टीको प्रमुख चयन भएकोमा बधाई साटासाट भएको थियो ।

स्मरणीय छ, २४–२७ मा भएको दशौँ महाधिवेशनबाट देउवा नेपाली काँग्रेसको सभापति निर्वाचित भएका थिए भने १५–१७ मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनले लिङ्देनलाई अध्यक्ष निर्वाचित गरेको थियो ।