गौडेल समुहका पदाधिकारीको उम्मेदवारी घोषणा

काँग्रेसभित्र घात–अन्तरघात गर्ने कसैलाई पनि आफुले बाँकी नराख्ने : गौडेल


गौडेल समुहका पदाधिकारीको उम्मेदवारी घोषणा

नेपालगन्ज १९ पुष : नेपाली काँग्रेस बाँकेको आगामी पुस २७ गते हुने जिल्ला निर्वाचनका लागि काँग्रेस संस्थापन इतर (शेखर कोइराला) पक्षले सोमबार सभापति सहित पदाधिकारीका उम्मेदवार घोषणा गरेको छ ।

काँग्रेस बाँकेको सभा हलमा आयोजित कार्यक्रममा उक्त पक्षले सभापतिमा नारायणप्रसाद गौडेल, उप–सभापतिमा गोपाल अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधांशु कोइराला र टंकप्रसाद काफ्ले ‘आशिष’ तथा सह–सचिवमा विश्वराज लम्साल र रेणु सिंहको नाम औपचारिक रुपमा सार्वजनिक गरेको हो ।

गौडेल प्यानलका प्रचारप्रसार समिति संयोजक समेत रहेका लुम्बिनी प्रदेश कार्यसमिति सदस्य टेकनारायण भुषालले उम्मेदवारको नाम सार्वजनिक गरेका थिए । उक्त प्यानलले जिल्ला कार्यसमिति सदस्य उम्मेदवारको नाम भने आगामी पुष २५ गते गरिने चियापान कार्यक्रममा सार्वजनिक गर्ने तयारी गरेकोछ ।

सभापति पदका उम्मेदवार गौडेलले एक महिनादेखी नै प्रचार–प्रचार गर्दै आएका थिए । उक्त प्यानलबाट सभापति पदमा गौडेल उम्मेदवार बनेका हुन् । संस्थापन(शेरबहादुर देउवा) पक्षले भने अहिलेसम्म आफ्नो आधिकारिक उम्मेदवार बनाउन सकेको छैन ।

Kanti Aarogya Hospital Nepalgunj

उक्त पक्षबाट सुरेन्द्र हमाल, निरन्जनसिंह सिजापति, बादशाह कुर्मी, राजकुमार बर्मा, सुनिलनरसिंह राणा र लक्ष्मी नारायण शाहले आकांक्षा देखाएका छन् । ती मध्ये हमाल, सिजापति र कुर्मी मुख्य आकांक्षी हुन् ।

संस्थापन इतर (शेखर कोइराला) पक्षको उम्मेदवार घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस बाँके सभापति पदका उम्मेदवार गौडेलले आफ्नो प्यानल निर्वाचित भएपछि जिल्लाभरी छरिएर रहेका तमाम द्वन्द्व पीडितलाई काँग्रेसमा जोड्ने बताए । आफ्नो प्यानल निर्वाचित भएपछि पार्टीसँग किसान, तरुण, बिद्यार्थी, ब्यापारी, मजदुर, सबैको प्रतिनिधित्व हुने उनको दाबी छ ।

‘सबैको दुःख पीडालाई बुझेर हामी काम गर्नेछौं, स्थानीय तथा केन्द्रिय निर्वाचनमा बाँके जिल्लाको तीनै क्षेत्रमा काँग्रेसको चारतारे झण्डा फरफराउनेछौं,’ उनले भने । काँग्रेसभित्र घात–अन्तरघात गर्ने कसैलाई पनि आफुले बाँकी नराख्ने र पहिलो निर्णयबाटै अनुशासन समिति बनाएर कार्यान्वायनमा ल्याउने उनले प्रतिबद्धता जनाए ।

‘पार्टीमा लागेका र संघर्ष गरिरहेकालाई स्थान दिइनेछ, अग्रजहरुलाई सम्मान गर्दै बाँकेमा एक घर दुई जना काँग्रेस बनाउनेछौं’ गौडेलले बताए ।

यस्तै उपसभापतिका उम्मेदवार गोपालप्रसाद अधिकारीले बाँकेमा काँग्रेस बलियो बनाउनकै लागि गौडेल समुहले नेतृत्व पाउनुपर्ने बताए । उनले भने ‘वडादेखि केन्द्रसम्मको स्वार्थ सकियो, यो विपक्षीसंगको लडाई होइन त्यसैले सर्वप्रिय नेतृत्व छान्न कसैको दवाव र प्रभावमा नपर्नुहोला ।’ सशक्त काँग्रेस बनाउन आफूहरुलाई मतदान गरी विजयी बनाउन उनले आग्रह गरे ।

घोषणा कार्यक्रममा काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य प्रमुख र काँग्रेस बाँकेका सभापति किरण कोइराला विशिष्ट अतिथी थिइन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य अन्जना पाण्डे, काँग्रेस बाँकेका सचिव तप्त पौडेल, क्षेत्र नम्बर १ का सभापति पोषण केसी, संविधान सभा सदस्य अब्दुल हमिद सिद्दिकी, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, नेताहरु हुर्मत न्यौपाने, कृष्ण विक रसाइली, बलराम शर्मा, जितेन्द्रबहादुर हमाल, नेविसंघ अध्यक्ष पूर्ण आचार्य लगायत उपस्थित भएका थिए ।