मुलुकको वर्तमान ब्यवस्थालाई काँग्रेस बाहेक अरु कसैले बचाउन सक्दैनन् : सहमहामन्त्री राठौर


मुलुकको वर्तमान ब्यवस्थालाई काँग्रेस बाहेक अरु कसैले बचाउन सक्दैनन् : सहमहामन्त्री राठौर

नेपालगन्ज २४ पुष : नेपाली काँग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले मुलुकको वर्तमान ब्यवस्थालाई काँग्रेस बाहेक अरु कसैले बचाउन नसक्ने बताएका छन् । मुलुकको ब्यवस्थालाई बचाउनका लागि काँग्रेसलाई जिताउन जरुरी रहेको उनको भनाई छ । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर– ३ ले शनिबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘किनभने यो संविधानको घोषणा पनि हामीले गरेको हो, यो संविधानलाई कार्यान्वयन पनि हामीले गरेको हुनाले यो ब्यवस्था बचाउनका लागि वडादेखी केन्द्रसम्म नेपाली काँग्रेसलाई जिताउन जरुरी छ ।’

कम्युनिष्टले जितेका कारण वडादेखी हरेक ठाउँमा भ्रष्टाचार भएको सहमहामन्त्री राठौरले बताए । ‘म भन्न चाहन्छु, भ्रष्टाचारको अन्त्यको लागि पनि कांग्रेसले जित्न जरुरी छ, काँग्रेसले नजितेसम्म भ्रष्टाचार रोकिने वाला छैन, त्यसैले म भन्न चाहन्छु कि यि सबै कुराको लागि काँग्रेसलाई जिताउन जरुरी छ,’ उनले भने ।

काँग्रेसले लोकतान्त्रिक पद्धतीलाई अंगाल्न जरुरी रहेको बताए । पार्टीको आन्तरिक निर्वाचन सकिएकाले अब सबै मिलेर पार्टी निर्माणमा लाग्न जरुरी रहेको राठौरको धारणा छ । पार्टीभित्र बैधानिक एकता गर्न आवश्यक रहेकोमा जोड दिदै भने, ‘बैधानिक एकता हामीले गर्नुपर्छ, अंगालो हालेर, हात मिलाएर एकता हुदैन, चुनाव जितेकाले सबैलाई समेट्ने, चुनाव हारेकाले सहयोग गर्ने र पाँच वर्ष कुर्ने, पाँच वर्षपछि साथीहरुको बीचमा जान्छु भनेर तयारी गर्ने ।’

नेतृत्वले पार्टीलाई एकतावद्ध ढंगले लिएर जान जरुरी रहेको पनि सह–महामन्त्री राठौरले जोड दिए । पार्टीलाई एक ढिक्का बनाएर जान ठुलो चुनौती रहेको बताए । ‘सबै हिसाबले एउटा परिपक्क र जुझारु युवा भएको पुस्ता चाही नेतृत्वमा आएको छ, यो नेतृत्वले अब काम गरेर देखाउनुपर्ने जरुरी छ,’ राठौरले भने ‘अधिवेशन सम्पन्न भइसक्यो, त्यसमा बुद्धि पुर्याएर चाही अगाडी बढ्न जरुरी छ ।’

Kanti Aarogya Hospital Nepalgunj

पार्टी सभापति शेरबहादुर देउवाले सबैलाई मिलाएर जाने राठौंरले बताए । ‘हाम्रो सभापतिले म सबैलाई मिलाएर लिएर जान्छु भनेर भन्नु भएको छ, उहाँसँग त्यो क्षमता पनि छ, यो देशका सबै पार्टीलाई सँगै लिएर सरकार बनाउनु भएको छ,’ उनले अगाडी थपे ।

पार्टीका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले मुलुकको हरेक परिवर्तनमा काँग्रेसले नै अगुवाई गर्दै आएकाले अझैपनि मुलुकको नेतृत्व कांग्रेसले गर्न जरुरी रहेको बताए । उनले भने, ‘काँगे्रेस नेताहरुले आन्दोलनको नेतृत्व गरेर मात्र परिवर्तन सफल भएको छ ।’ कम्युनिष्ट पार्टीले जनता समक्ष झुटो कुरा मात्रै गर्ने केन्द्रिय सदस्य बाल्मिकीले जोड दिए । काँग्रेसले २००७ सालदेखी उठाउँदै आएको संविधान सभा र संविधानलाई कांगे्रेसकै नेतृत्वमा जारी गरिएको बताए ।

अर्का केन्द्रिय सदस्य जुवेदा खातुनले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धाको चरण सकिएको र अब विपक्षीसँग लड्नुपर्ने बेला आएको बताइन् । पार्टीलाई आगामी दिनमा स्थानीय, प्रदेश र संघीय निर्वाचनमा निर्वाचिन गराउन सबै कार्यकर्ता अग्रसर रहनुपर्नेमा जोड दिइन् । ‘अहिले सबै जातजातीको अधिकार स्थापित भएको छ, नेपाली काँग्रेस सबै जातजातीको पार्टी हो,’ नेतृ खातुनले भनिन् ।

पार्टीको १४ औं महाधिवेशनले हरेक जाती र समुदायलाई समेटेको र आफुले पनि मुस्लिम समुदायबाट पार्टीमा प्रतिनिधित्व गरेको बताइन् । कांग्रेस क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा काँग्रेस बाँकेका पुर्वसभापति एवम् राष्ट्रिय सभा सदस्यका उम्मेदवार युवराज शर्मा, पुर्व जिल्ला सभापति कृष्णमान श्रेष्ठ, लुम्बिनी प्रदेशका सांसद मोहम्मद याकुव अन्सारी, संविधान सभा सदस्य बादशाह कुर्मी र आशा बिक, जिल्ला सचिव कपिलदेव शर्मा, क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, नेताहरु कांग्रेस नेता निरञ्जनसिंह सिजापति, मेघराज ओली, लक्ष्मीनारायण शाह, निर्मला रोकाय, दयाराम यादव लगायतले पनि बोलेका थिए ।

सो क्रममा काँग्रेस क्षेत्र नम्बर ३ ले सह–महामन्त्री राठौर तथा केन्द्रिय सदस्यद्वय बाल्मिकी र खातुनलाई मायाको चिनो प्रदान गरेको थियो । सोही कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्यसहित करिव दुई दर्जन ब्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रममा केशव शाहले स्वागत गरेका थिए, भने कार्यक्रम सञ्चालन क्षेत्रीय सचिव ज्ञानबहादुर ओलीले गरेका थिए ।