रकम अपचलन काण्ड
नेपालगन्ज : २६ करोड रकम अपचलनको आरोपका मुख्य दोषी भनिएका सहकारी वित्तीय विकास संस्था लिमिटेडका प्रबन्ध अरुणकुमार पाठकले आफूलाई फसाइएको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा मंगलबार पत्रकारसंग कुरा गर्दै पाठकले यस्तो दावि गरेका हुन् । नेपालगन्जमा रहेको सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम आफूले हिनामिना नगरेको दावि गर्दै पाठकले भने–‘सहकारीको हरहिसाब गर्न सञ्चालकहरुलाई पटकपटक जानकारी गराईरहँदा पनि वेवास्ता गरे ।’
मलाई सहकारी डुब्ने भयो भन्दै कोठामा थुनेर सहकारीको रकम अपचलन गरेको भनेर जवरजस्ती कागजातमा हस्ताक्षर गराएको उनले आरोप लगाए । पाठकले आफुले लिएको ऋण बिभिन्न समयमा तिरेको र अरुले दिने ऋणको रकमसमेत आफुमाथि थुपारिएको ठोकुवा गरे ।
पत्रकारहरुको प्रश्नमा जवाफ दिदै उनले भने–‘छानबिन समितिले दोषी ठहर्याए त्यो म स्वीकार्छु, रकम पनि तिर्छु तर निश्पक्षरुपमा छानविन हुनुपर्छ ।’ उनले भने –‘सहकारीले नियमबिपरित सन्ध्याकालिन काउण्टरसमेत चलाएको पाठकको भनाई छ । त्यस्तै संस्थाका अध्यक्ष संधै बेलुका आएर नियम बिपरित खर्च लिएर जाने गरेको र मासिकरुपमा डेढ लाख समेत लिने गरेको प्रबन्धक पाठकले पोल खोले ।
सहकारीका प्रमुखहरुबिरुद्ध मुद्दा परेपछि भारतको बनारस लुकिछिपी बस्दै आएका पाठकले पत्रकार सम्मेलन गरेर मंगलवार प्रहरीसमक्ष आत्मसर्पण गरेकाछन् । सहकारीको रकम हिनामिना भएपछि गठन गरिएको छानविन समितिको प्रतिवेदन अनुसार प्रबन्धक पाठकले २२ करोड, नायब महाप्रबन्धक गंगाधर सुवेदीले ३ करोड, बैजापुर शाखा प्रमुख लिलाधर ओलीले ४४ लाख र खजुरा शाखा प्रमुख सुर्यकुमार विकले ६४ लाख रुपैयाँ अपचलन गरेको उल्लेख छ ।
प्रतिवेदनमा उल्लेख भएको रकम बुझाउन कागज गरेका उनीहरुमध्ये जेठ ५ गतेदेखि प्रबन्धक पाठक र बैजापुर शाखा प्रमुख लीलाधर र नायब प्रबन्धक सुवेदी पनि विरामी भएको भन्दै जेठ ११ गतेदेखि सम्पर्कविहीन छन् ।
उनीहरुले नक्कली कर्जा वितरण गरेको कागजात बनाएर रकम ठगी गरेको श्रोतको भनाई छ । २६ करोड रुपैयाँ अपचलन भएको सहकारीले सार्वजनिक गरेपनि संस्थामा करीब ५२ करोड रुपैयाँ मौज्दात रहेको देखिन्छ । सहकारीमा एउटै व्यक्तिको ३० लाख रुपैयाँसम्म बचत रहेको छ ।
यसैबीच कर्मचारीहरुबाट अपचलन भएको रकम र सो सम्बन्धी पूर्ण अध्ययन गर्न कम्तिमा १५ दिन लाग्ने भन्दै सञ्चालक समितिले जेठ २६ गतेसम्म बैंैंकिङ कारोबार स्थगन गर्ने निर्णय गरेको छ ।
संस्थाले ग्राहकहरुको रकम सुनिश्चित रहेको र आन्तरिक हिसाब छिट्टै मिलान गरी संस्था नियमित सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाएको छ । सञ्चालक समितिका अध्यक्ष हरदेवबक्स चौधरीलाई बचतकर्ताहरुको उजुरीपछि प्रहरीले नियन्त्रणमा लिएकोछ । २०५१ सालमा स्थापना भएको सहकारी वित्तीय विकास संस्था लिमिटेडमा ३ हजार भन्दा बढी सदस्य छन् ।