टिकट दाबी गर्ने नेताले आफ्नो वडामा जिताउन सक्नुपर्छ : काँग्रेस सह–महामन्त्री राठौर


टिकट दाबी गर्ने नेताले आफ्नो वडामा जिताउन सक्नुपर्छ : काँग्रेस सह–महामन्त्री राठौर

नेपालगन्जमा बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै काँग्रेस सहमहामन्त्री किशोरसिंह राठौर । तस्बिरः सेतोखरी

नेपालगन्ज २८ पुष : नेपाली काँग्रेसका केन्द्रीय सह–महामन्त्री किशोरसिंह राठौरले वडादेखि केन्द्रसम्म काँग्रेसमय भएको आफूले देख्न चाहेको बताएकाछन् । काँग्रेस बाँके क्षेत्र नम्बर–२ ले नेपालगन्जमा बुधबार गरेको स्वागत, सम्मान, बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय तह निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

प्रतिनिधि सभाका सांसद समेत रहेका नेता राठौरले भने–‘स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयरको टिकट दाबी गर्ने नेताले आफ्नो वडामा जिताउन सक्नुपर्छ ।’

पार्टीमा इमान्दारीपूर्वक लागेका सबैलाई न्याय हुने बताउँदै नेता राठौरले भने, ‘जो साथीले अवसर पाउनु भएको छैन, ती साथीले अवसर पाउनु हुनेछ, अवसरको कमी छैन ।’ ‘स्थानीय तहको निर्वाचन नजिकिएकोछ, त्यसको तयारीमा जुट्नुस्, काँग्रेसलाई जिताउन सकेनौं भने हामी निर्वाचित भएको केही अर्थ छैन,’ उनले भने । पार्टीको कार्यसमितिमा बस्ने तर, बैठकमा नआउने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनले बताए ।

पार्टीलाई जिताउने अभियानमा जोडिन आफू प्रत्येक वडामा खटिन तयार रहेको स्पष्ट पार्दै सह–महामन्त्री राठौरले भने–‘संगठन बनाउने अभियानमा तपाईले मलाई साथ दिने कि नदिने ?’ ‘तपाईले मलाई बोलाउनु हुन्छ भने म वडा–वडामा आउन तयार छु, तर मैले कति भ्याउँछु, काँग्रेसलाई वडामा जिताउने अभियानमा तपाईहरु लाग्नुस्,’ उनले थपे ।

Kids Festival 2022
kanti aarogya hospital
add

चित्त नबुझेको कुरा कार्यकर्ताले नेतालाई अगाडि आएर भन्न सक्नुपर्ने बताउँदै नेता राठौरले भने, ‘मैले बोलेको कुरा गलत छ भने भन्नुस्, त्यसलाई म समिक्षा गरेर जान तयार छु, मैले गरेको काम गलत छ भने भन्नुस्, त्यसलाई म सुधार गरेर जान तयार छु, तर तपाईहरु सुध्रिने कि नसुध्रिने ?’

यस्तै उक्त कार्यक्रममा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले काँग्रेसकै नेतृत्वमा अहिलेसम्म धेरै विकास निर्माण भएको बताए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका कारण बाँके जिल्लाले मुहार फेरेको र एडिबीको अर्बौ बजेट जिल्लामा भित्रिएको दावि गरे । भेरी अस्पताललाई कलेजका रुपमा विकास गर्न काँग्रेसले नै अगाडि बढाएको बताए ।

आगामी तीनै तहको निर्वाचनमा काँगे्रसलाई जिताउन सबै अग्रसर हुनुपर्ने बताउँदै काँग्रेस केन्द्रीय सदस्य जुबेदा खातुनले भनिन् ‘नेपाली काँग्रेसले अहिले ठूलो अवसर पाएको छ, यो अवसरलाई गुमाउनु हुँदैन,’ उनले अगाडी भनिन्, ‘यो अवसरलाई काँग्रेसले शक्तिमा बदल्नुपर्छ, शक्ति भनेको नै हामीबीचको एकता हो ।’

क्षेत्रीय सभापति रमेश गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा काँग्रेस बाँकेका पूर्वसभापति एवम् पूर्वमन्त्री गजेन्द्र हमाल, पूर्वसभापति एवम् राष्ट्रिय सभा सदस्यका उम्मेदवार युवराज शर्मा, संविधान सभा सदस्यद्वय बादशाह कुर्मी र आशा बिक लगायतले आगामी स्थानीय निर्वाचनमा काँग्रेसलाई देशको पहिलो पार्टी बनाउन कसैले रोक्न नसक्ने धारणा राखे ।

सहमहामन्त्री भएपछि पछिल्लो पटक गृहजिल्ला आएका राठौर बाँके र बर्दियाको काँग्रेस कार्यक्रममा ब्यस्त छन् ।