विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी : गृहमन्त्री खाँण


विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी : गृहमन्त्री खाँण

नेपालगन्ज २ माघ : गृहमन्त्री बालकृष्ण खाँणले विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी रहेको बताएका छन् ।

काठमाडौं महानगरपालिकाद्वारा आज यहाँ आयोजित २४औँ भूकम्प सुरक्षा दिवस तथा राष्ट्रिय भूकम्पस्मृति सभामा उनले तीनै तहका सहकारको समन्वय र सहकार्यले मात्रै जोखिम कम गर्न तथा उद्धार, राहत र पुनःस्थापनको काम प्रभावकारी बनाउन सकिने उल्लेख गरे ।

गृहमन्त्री खाँणले यसपालीको भूकम्प सुरक्षा दिवस सोहीअनुसार कार्यक्रम तय गरी मनाउन थालिएको पनि जानकारी दिए । मुलुकका हरेक भौतिक पूर्वाधार भूकम्प प्रतिरोधी बनाउन जरुरी रहेको औँल्याउँदै उनले भने, ‘सरकारी तथा निजी आवास भूकम्प थेग्नसक्ने गरी बनाउनुपर्छ, त्यसका लागि नागरिकमा आवश्यक ज्ञान र सचेतना पु¥याउनु जरुरी छ ।’

विश्व्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) को सङ्क्रमण फैलिरहेको सन्दर्भ जोड्दै मन्त्री खाँणले अहिले कोभिडको विपद्बाट नागरिकको जीउज्यान जोगाउनु महत्त्वपूर्ण भएको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अवलम्बन गरी जोखिम न्यूनीकरणमा लाग्नसमेत राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई आग्रह गर्दै उनले यसप्रति सचेत हुन नागरिकमा समेत अनुरोध गरे । गृहमन्त्री खाँणले जोखिमका बीच आम नागरिकको सुरक्षामा खटिने सबै राष्ट्रसेवक कर्मचारीको प्रशंसा पनि गरे ।

‘कोभिड–१९ सङ्क्रमणले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिकलगायत हरेक क्षेत्रलाई प्रभावित पारेको छ’, उनले थपे, ‘अहिले कोरोना रोकथाम गरी नागरिकलाई बचाउनुपर्ने अवस्था रहेको छ, हामी सबै संवेदनशील हुनुपर्छ ।’

समारोहमा गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक क्रमशः शैलेश थापा क्षेत्री र शैलेन्द्र खनाललगायतको सहभागिता थियो ।

सोही क्रममा भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा निर्मित स्तम्भमा गृहमन्त्रीलगायत अतिथिबाट पुष्पहार अर्पण गरी स्मृतिसभासमेत आयोजना गरिएको थियो । त्यसअवसरमा विपद्का बेला नागरिकको जीउज्यानको सुरक्षामा खटिने महानगरका तीन कर्मचारीलाई पुरस्कृतसमेत गरिएको थियो । -रासस