नेपालगन्ज ७ माघ : कोहलपुर नगरपालिकाले ‘कार्यादेश बिना भुक्तानी नगरिने सम्बन्धी सूचना’ का नाममा पत्रकार र पत्रकारिता क्षेत्रप्रति लगाएका गम्भीर आरोप प्रति नेपाल पत्रकार महासंघ बाँकेसहित विभिन्न पेशागत संगठनले गम्भीर ध्यानाकर्षण जनाएकाछन् ।
नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यालयमा शुक्रबार बसेको महासंघ पदाधिकारी तथा विभिन्न पेशागत संगठनको बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
कोहलपुर नगरपालिकाद्वारा जारी उक्त सूचना समग्रमा पत्रकारिता क्षेत्रलाई बद्नाम गर्ने नियतबाट प्रेरित भई प्रकाशन भएको, त्यहाँका जनप्रतिनिधि र कर्मचारीतन्त्रको सञ्चारक्षेत्रप्रति हेर्ने गलत दृष्टिकोण उजागर भएको उनीहरुको सामुहिक निष्कर्ष छ ।
उक्त सूचना बाहिरिएसंगै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर बाँकेका सचिव संगिन शर्मा र प्रगतिशील पत्रकार संघका कार्यवहाक संयोजक तिलक गाउँलेको उपस्थितीमा महासंघको कार्यालयमा गम्भीर छलफल भएको हो ।
छलफलमा कुनै पनि कार्य गरे बापत विभिन्न कागज पत्र हेरेर भुक्तानी गर्ने नगर्ने अधिकार र कानूनी प्रावधान स्वयं कोहलपुर नगरपालिकालाई भएको, तर सञ्चार माध्यमलाई र स्वतन्त्र रुपमा काम गरिरहेका सम्पूर्ण पत्रकारहरुलाई बदनाम गराउने उद्देश्यले निकालिएको सूचना प्रति खेद प्रकट गरिएको छ ।
महासंघ बाँकेका सचिव कमल डाँगीद्वारा सार्वजनिक प्रेस विज्ञप्तीमा भनिएकोछ –‘खरिद ऐन नियमावली, कार्यादेश, कार्यसम्पन्न प्रतिवेदन लगाएतका प्रावधान पश्चात मात्र रकम भुक्तानी गरिने कानूनी प्रावधान हुँदाहुँदै त्यसको पालना गर्नुको साटो समग्र सञ्चारमाध्यम र पत्रकारको नाम जोडेर सार्वजनिक सूचना निकाल्नु बदनियतपूर्ण कार्य भएको हाम्रो निष्कर्ष छ ।’
पत्रकार महासंघ बाँके र पेशागत संगठनको सामुहिक छलफलले उक्त कार्यको कडा बिरोध र आपत्ति जनाउँदै आमसञ्चार माध्यम र पत्रकारप्रति कोहलपुर नगरपालिकाले तत्काल आधिकारिक धारणा सार्वजनिक नगरे कडा कदम चाल्न बाध्य हुने समेत चेतावनी दिइएकोछ ।
‘पछिल्लो समय सञ्चार माध्यममा प्रशारण, प्रकाशन हुने आलोचनात्मक बिषयलाई स्वीकार गर्न नसक्ने तर, त्यसको बदलामा आर्थिक बिषय जोडेर पत्रकार र पत्रकारिता क्षेत्रलाई बद्नाम गर्दै प्रेस स्वतन्त्रताको घाँटी निमोठ्न खोज्ने प्रबृत्ति पटक–पटक दोहोरीरहेको हामीले महशुस गरेका छौं ।’ महांसघको विज्ञप्तीमा भनिएकोछ –‘पेशागत मर्यादा, आचारसंहिताको पूर्णपालना, स्वस्थ्य व्यवसायीक प्रतिस्पर्धा र राज्यद्वारा निर्देशित नियम कानूनको परिपालनामा हामी कसैसँग सम्झौता गर्दैनौ ।’
‘यो बिषयमा हामी सदैव सचेत र सजग छौं । तर, पेशागत मर्यादा र आचारसंहिताको पूर्णरुपले पालना गर्दागर्दै पनि अनावश्यक र सत्य नठहर्ने बिषयलाई जोडेर अमुर्त शैलीमा पत्रकारिता क्षेत्रलाई बद्नाम गर्ने प्रबृत्तिको निन्दा र भत्र्साना गर्दै त्यसको सामुहिकरुपमा कडा प्रतिबाद गर्दछौं’ महासंघको विज्ञप्तीमा उल्लेखछ ।