शहीद सप्ताह शुरु

शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण


शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण

नेपालगन्ज १० माघ : आजबाट शहीद सप्ताह शुरु भएकोछ । एक कार्यक्रमकाबीच काठमाडौंको टेकु मचलीस्थित शहीद शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरि शहीह सप्ताह शुरु गरिएकोछ ।

शास्त्रीलाई प्राणदण्ड दिईएको स्थानमा पुगेर काठमाडौं महानगरका मेयर एवं शहीद सप्ताह मुल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गरेका हुन् ।

कोभिड महामारीका कारण यस वर्ष औपचारिक रूपमा सभा आयोजना गरिएन । मन्तव्य राखिएन । संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै सीमित पदाधिकारी उपस्थित भएर शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको हो ।

यो स्थानलाई वि. सं. २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखी संरक्षण शुरु गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

पुष्पगुच्छा अर्पणपछि शहीद सप्ताहका कार्यक्रमका बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै मुल समारोहका संयोजक मेयर शाक्यले, यस वर्ष शहीद सप्ताहका कार्यक्रममा केही परिवर्तन गरिएको जानकारी दिए । ‘अहिले कोभिड संक्रमणको दर बढ्ने क्रममा छ । यसकारण हामी सीमित व्यक्तिहरूको उपस्थितिमा सप्ताहव्यापी कार्यक्रम गर्नेछौँ ।’

पारिवारिक रूपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने शहीदको योगदानलाई प्रतिकुल परिस्थिति छ भनेर बिर्सन मिल्दैन । त्यसैले कार्यक्रमको स्वरूप परिवर्तन गरेर सप्ताहव्यापी कार्यक्रमलाई निरन्तरता दिइएको मेयर शाक्यको भनाइ थियो ।

कार्यक्रममा उपमेयर खड्गी श्रेष्ठले व्यक्तिगत लाभभन्दा नागरिकको स्वतन्त्रता र मानव अधिकारको पक्षलाई ठूलो मानेर प्राणको आहुति दिने शहीदहरूको सम्मान अन्य कुनै कारण नरोकिने प्रतिक्रिया दिए ।

शुक्रराजको जन्म वि. सं. १९५० सालमा बनासरमा भएको हो । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा शुरु गरेका शास्त्रीले इलाहवादकै आर्य समाज बिद्यालयमा केही समय प्रधानाध्यापकका रूपमा काम गरेका थिए । त्यस क्रममा उनले पटना, दार्जिलिङ्, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषीबीच नागरिक अधिकारका विषयमा संगठन बनाउन शुरु गरेका थिए । त्यसपछि नेपाल फर्किएका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले १९९४ सालमा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गरेका थिए । यस समितिको सदस्यमा गंगालाल श्रेष्ठ पनि थिए ।

धार्मिक गतिविधिबाट जहानियाँ शाशनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मंसिर १३ गते इन्द्रचोकमा मानिसहरूलाई भेला गराएर गीताका श्लोकमार्फत जहानियाँ शासनको आलोचना गरेका थिए ।

राणाको विरोध गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो ।

यसरी जेल सजाय भोगिरहेकै बेला राणा शाशनविरुद्ध कदम चालेको आरोपमा शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र धर्मभक्त माथेमालाई माघ १३ गते सिफल उकालो बकाइनाका रूखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

त्यस्तै गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा गोली हानेर मारिएको थियो ।

महानगरले प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका ४ शहीदहरूको पूर्ण कदको शालिक शहीदहरूले सहादत प्राप्त गरेकै स्थानमा स्थापना गरेको छ । २०७५ सालमा शुक्रराज शास्त्रीको शालिक स्थापना गरिएको हो भने धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको २०७६ सालको श्रद्धाञ्जली सभामा स्थापना गरिएको हो ।

शहीद सप्ताहका बाँकी कार्यक्रमहरूमा माघ १३ गते सिफलमा शहीद धर्मभक्त माथेमाको शालिकमा र १५ गते शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गरिनेछ ।

यस वर्ष प्रभात फेरी हुनेछैन । माघ १६ गते विहान ९ बजे लैनचौरको शहीद स्मारक ज्ञात अज्ञात शहीदको सम्झनामा संक्षिप्त स्मृति कार्यक्रम आयोजना हुनेछ । त्यस अवसरमा प्रधानमन्त्रीसहित केही उच्च पदस्थ अधिकारी मात्र उपस्थित हुनुहुनेछ । सम्मान गारदका लागि नेपाली सेनाको सानो टुकडी मात्र हुनेछ । त्यसै दिन मध्यान्न १२ बजे टुँडिखेलमा तोपको सलामी अर्पण गरिनेछ ।