नेपालगन्ज १२ माघ : राष्ट्रिय सभा सदस्य निर्वाचन अन्र्तगत लुम्बिनी प्रदेशमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन् ।
उनीहरुले एमालेको रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका हुन् ।
बुधबार विहान ९ बजे दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो । मतदानमा प्रदेशसभा सदस्य ८१ र १०७ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए ।
यसअघि राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी लुम्बिनी प्रदेशमा राप्रपाका दुई बाहेक सबै जनप्रतिनिधिले मत दिएका थिए । कुल मत २९६ मा २९४ मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
राप्रपाबाट निर्बाचित भएका नेपालगन्ज उपहानगरपालिकाका मेयर धवलशम्शेर राणा र रुपन्देहीको रोहेणी गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति चमार निर्वाचनमा अनुपस्थित भए ।
राप्रपाको प्रदेश १ बाहेक अरू प्रदेशका निर्वाचनमा सहभागी नहुने निर्णय अनुसार लुम्बिनीमा दुई जनप्रतिनिधि उपस्थित भएनन् । दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा ९ बजे मतदान शुरु भएर ३ बजे मतदान सकिएको थियो ।