नेपालगन्ज १४ माघ : नेपाली काँग्रेसले ३७ सदस्यीय केन्द्रिय कार्यसम्पादन समिति गठन गरेकोछ । प्रधानमन्त्री एवम काँग्रेस पार्टी सभापती शेरबहादुर देउवाले शुक्रबार ३७ सदस्यीय केन्द्रिय कार्यसम्पादन समिति गठन गरेका हुन् ।
कार्यसम्पादन समिति बढीमा ४६ सदस्यीय हुने भए पनि शुक्रबार बसेको केन्द्रिय कार्यसमितिको भर्चुअल बैठकले अहिलेलाई ३७ सदस्यीय समिति गठन गरेको हो ।
वर्तमान कार्यसमितिका १३ पदाधिकारीबाहेक सभापति शेरबहादुर देउवाले २४ जनाको नाम प्रस्ताव गरेका हुन् । कार्यसम्पादन समितिमा पूर्वपदाधिकारीहरू सबैको नाम परेको छ ।
१४ पदाधिकारीसहित ४५ सदस्यीय नियुक्त गर्न पाउने भए पनि सभापति देउवाले कोषाध्यक्ष नियुक्त नगर्दा हाल १३ पदाधिकारी मात्र छन् । ३१ केन्द्रिय सदस्यलाई मनोनीत गर्न पाउने भए पनि देउवाले २४ जनाको मात्र नाम कार्यसम्पादन समितिमा मनोनीत गरेका हुन् । मनोनीत नामलाई केन्द्रिय समितिले अनुमोदन गरिसकेको छ ।
कोषध्यक्ष नियुक्त भएपछि थप ६ जनालाई सभापतिले मनोनीत गर्न सक्छन् । त्यससरी मनोनीत हुनेबाहेकको व्यक्ति प्रवक्ता भएमा कार्यसम्पादन समिति ४६ सदस्यीय हुनेछ ।
आगामी निर्वाचनपछि काँग्रेसका सभापतिबाहेक अर्को व्यक्तिलाई संसदीय दलको नेता चयन गरिए संसदीय दलको नेता पनि कार्यसम्पादन समितिमा रहन्छन् ।
नेपाली काँग्रेसको विधान २०१७(संसोधन सहित) को धारा २३(१) बमोजिम पदाधिकारीबाट शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, भीष्मराज आङदाम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय ‘डिना’, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार रहेकाछन् ।
यस्तै नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २३ (२) बमोजिम नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जीपछिरिङ्ग लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना नेपाली काँग्रेस केन्द्रिय कार्यसम्पादन समितिको सदस्य भएका हुन् ।