खजुरामा विपन्न परिवारका लागि एक करोडको सामुहिक आवास निर्माण


खजुरामा विपन्न परिवारका लागि एक करोडको सामुहिक आवास निर्माण

खजुरा १४ बाँके : बाँकेको खजुरा गाउँपालिकाले सामुहिक आवास निर्माण गरेकोछ । तराई–मधेस समृद्धि कार्यक्रम अन्तर्गत घरबास र जग्गाविहीन विपन्न परिवारका लागि खजुराले सामुहिक आवास निर्माण गरेको हो ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले शुक्रबार एक समारोहकाबीच उक्त सामुहिक आवासको उद्घाटन गरे ।

खजुरा गाउँपालिका वडा नम्बर–३ बि–बोरिङमा निर्माण गरिएको सामुहिक आवासमा १६ वटा घर निर्माण गरिएको छ । यसैगरी ५ वटा घर निर्माणाधीन अवस्थामा रहेकाछन् ।

निर्माण सम्पन्न भएका घरमा गाउँपालिकाले आव्हान गरेको सूचनाअनुसार प्राप्त निवेदनमार्फत विपन्न ब्यक्तिहरु पहिचान गरी घर उलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

तराई–मधेस समृद्धि कार्यक्रम अन्तर्गत करिब एक करोड रुपैयाँको लागतमा शौचालय, खानेपानी, विद्युतलगायत न्यूनतम आधारभूत आवश्यकता परिपूर्ती हुनेगरी आवास निर्माण गरेका छौं, अध्यक्ष कक्षपतिले अगाडी भने –‘यसबाट विपन्न समुदायले लाभ लिएका छन् ।’

सामूहिक आवास गृहमा बस्न थालेका धादिङ गोलढुङ्गा जन्मघर भएका ६३ वर्षीय दावा लामाले जग्गा जमिन र बस्ने घर नभएकाहरुका लागि घर पाउनु खुशीको विषय भएको बताए ।

उनले विगतलाई स्मरण गर्दै लामाले भने –‘कहिले होटल त कहिले गाडीमै जिन्दगी बित्यो, अहिले बुढेसकालमा बस्ने घर पाइएपछि हामीलाई राहत भएको छ ।’

सामुहिक आवासको उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री पोखरेलले वर्तमान सत्ता गठबन्धनले स्थानीय तहलाई कमजोर बनाउन षडयन्त्र गरिरहेको दावी गरे ।

‘स्थानीय तहको निर्वाचन सम्पन्न नगरी रिक्त बनाउने प्रयास गरिदैंछ’, पोखरेलले भने –‘वर्तमान पाँचदलीय गठबन्धन जनतामाझ जान डराइरहेको छ । यसैबाट उनीहरुको लोकप्रियतामाथि प्रश्न उठिरहेकोछ ।’

वर्तमान गठबन्धन देश र जनताको पक्षमा नभई एमालेलाई सत्ताच्युत बनाउन मात्रै निर्माण भएको पोखरेलले बताए । विगतमा लुम्बिनी प्रदेश सरकार ७ जना मन्त्रीले नमुना रुपमा सञ्चालन गरेको दाबी गर्दै उनले भने,‘अहिले मन्त्रीको सङ्ख्या १७ पुगे पनि काम सन्तोषजनक भएको छैन । प्रदेश सरकार कमाउ धन्दामा लिप्त छ ।’