स्थानीय तहको चुनाव गर्न सत्तारुढ गठबन्धन तयार, निर्वाचन आयोगसँग परामर्श गरेर मिति तोक्ने


स्थानीय तहको चुनाव गर्न सत्तारुढ गठबन्धन तयार, निर्वाचन आयोगसँग परामर्श गरेर मिति तोक्ने

File Photo

नेपालगन्ज १५ माघ : स्थानीय निर्वाचनको मिति सार्ने वा तोक्ने भन्ने राजनीतिक तर्ककाबीच सत्तारुढ गठबन्धनमा रहेका दलहरु आगामी जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न तयार भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उक्त सहमति जुटेको हो ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको बैठकमा सहभागी सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘उच्चस्तरीय राजनीतिक संयन्त्रले प्रधानमन्त्रीमार्फत् सरकारलाई सुझाव दिएको छ । संविधानअनुसार कानूनमा संशोधन गर्नुपर्ने भए त्यो तयार गर्न पनि सुझाव दिएको छ । अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति तोक्नेछ,’ बैठकपछि कार्कीले भने ।

बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्ने पनि निर्णय गरेको छ । ऐनमा रहेको स्थानीय तहको जनप्रतिनिधिको कार्यकालसम्बन्धी व्यवस्था नेपालको संविधानसँग बाझिएको भन्दै त्यसलाई संविधानसम्मत हुने गरी संशोधन गर्ने सहमति भएको गठबन्धनका एक नेताले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

सञ्चारमन्त्री कार्कीका अनुसार ऐन संशोधन गर्न आवश्यक भए त्यसको प्रक्रिया अघि बढाउन पनि बैठकले सरकारलाई सुझाव दिएको छ ।

यसअघि सत्तारुढ गठबन्धनमा स्थानीय तह निर्वाचन ऐन संशोधन गरी स्थानीय तहको निर्वाचन धकेल्ने विषयमा छलफल भएको थियो । तर, गत बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्थानीय निर्वाचन नसार्न आग्रह गरेकी थिइन् ।

सरकारले स्थानीय तहको निर्वाचन सार्न लागेको भन्दै प्रमुख प्रतिपक्षी दलसहित बुद्धिजीवि नागरिक समाजले विरोध गर्दै आएका थिए । नेपाली काँग्रेसभित्र समेत निर्वाचन सार्न हुने वा नहुने भन्ने विषयमा मत विभाजन हुन थालेको थियो । यसअघि शनिबार बिहान बसेको गठबन्धनको बैठक निर्णयमा पुग्न नसक्दा शनिबार नै बेलुका पुनः बैठक बस्ने गरी टुंग्याइएको थियो ।