‘एक्लै जित्न सक्ने अवस्था सिर्जना भए गठबन्धन आवश्यक छैन’
नेपालगन्ज १५ माघः नेपाली काँग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले पार्टीभित्रको मत–मतान्तरको अन्त्य गरेर प्रतिपक्षसँग लड्न आग्रह गरेकाछन् ।
काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ कार्यसमितिले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सह–महामन्त्री राठौले पार्टीको अधिवेशनसंगै मत–मतान्तर सिद्धिसकेकाले अब प्रतिपक्षसंग लड्ने तयारीमा लाग्न आग्रह गरे ।
उनले पार्टीभित्रको आन्तरिक संघर्ष समाप्त भएको बताउदै अब पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने बताए ।
‘नेतृत्वमा जाने विषयमा पार्टीभित्र १५ औं अधिवेशनमा संघर्ष गरौंला, तर, पार्टीलाई एक ढिक्का बनाएर, मत मतान्तरको अन्त्य गरेर प्रतिपक्षसँग लड्ने तयारीमा लागौं,’ उनले भने । मुलुकमा अन्य कुनैपनि पार्टीले वडादेखी केन्द्रसम्म भब्य महाधिवेशन नगरेको र त्यो काँग्रेसले मात्र गरेको दाबी गरे ।
आउने निर्वाचनमा पार्टीलाई जिताउने अभियानमा लाग्न कार्यकर्तालाई नेता राठौरले निर्देशन पनि दिए । आसन्न निर्वाचनमा पार्टी एक्लै जाने कि मिलेर जाने भन्ने कुरा चलिरहेको भन्दै सह–महामन्त्री राठौरले गठबन्धन नगर्ने भनि चर्को कुरा गरेर मात्र केही नहुने बताए ।
‘गठबन्धनले गर्दाखेरी काँग्रेसभित्र दुःख पाएका नेता युवराज शर्मा राष्ट्रिय सभाको माननीय हुनु भएको छ, यो उपलब्धी हो कि होईन ?’ राठौरले प्रश्न गर्दै भने ‘अहिले गठबन्धन नभएको भए युवराज शर्मा राष्ट्रिय सभा सदस्य बन्न सक्नु हुन्थ्यो ? त्यसैले चर्का र पपुलर कुरा गर्न सबैलाई आउँछ, सत्य कुरा गर्नलाई मुटु चाहिन्छ मुटु ।’
काँग्रेसले एक्लै जित्न सक्ने अवस्था सिर्जना गर्न सकेमा गठबन्धनको आवश्यकता नपर्ने नेता राठौरको भनाइछ ।
उनले थपे, ‘त्यही भएर संगठन गर्नुस्, वडामा एक्लै जान सक्ने अवस्था सिर्जना गर्नुस् । गठबन्धन किन गर्नुपर्यो ? देशभर काँग्रेसका साथीहरुले एक्लै जित्न सक्ने अवस्था सिर्जना गर्न सक्नु भयो भने गठबन्धनको आवश्यकता छैन ।’
अहिलेसम्म गठबन्धनमै सरकार चलेको र राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धन गरेरै उपलब्ध प्राप्त गरेको भन्दै सह–महामन्त्री राठौरले भने, ‘गठबन्धन गरेर जाने कि एक्लै जाने कि त्यो तपाईहरुमा निर्भर हुन्छ, तपाईहरुले संगठन बलियो बनाउनु भएन भने गठबन्धन हुन्छ, अहिले पाँच जनाले अवसर पाउनु भएको छ भने भोली एक जनाले मात्र पाउनुपर्ने अवस्था पनि सिर्जना हुन्छ, त्यसकारण संगठन गर्न लाग्नुस् ।’
काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ का वडा सभापति प्रदिप श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, राष्ट्रिय सभा सदस्य युवराज शर्मा, काँग्रेस बाँकेका सभापति किरण कोइराला, पुर्व सभापति एवम पुर्वमन्त्री गजेन्द्र हमाल, जिल्ला उपसभापति सुनिलनरसिंह राणा, क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, प्रदेश सभा २ ‘ख’ का सभापति जितेन्द्र हमाल, पुर्व क्षेत्रीय सभापति सुरेन्द्रनाथ सापकोटा, नेपालगन्ज उपमहानगर सभापति प्रशान्त विष्ट लगायत अतिथीको उपस्थिती रहेको थियो ।
काँग्रेस वडा सचिव हिमनाथ पौडेलले सञ्चालन गरेको कार्यक्रममा क्षेत्र नम्बर २ कास सचिव सुनिल सिंह हमालले स्वागत गरेका थिए । त्यस क्रममा क्रियाशिल सदस्यहरुबीच अन्तरक्रिया समेत गरिएको थियो । सोक्रममा जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी सुनिलकुमार गुप्ता काँग्रेसमा प्रवेश गरेका थिए ।