नेपालगन्ज २० माघ : पश्चिमी वायुको प्रभावका कारण यतिबेला देशको पश्चिमी क्षेत्रमा हावाहुरीसंगै वर्षा र हिमपात भएको छ ।
बुधबार राति नेपाल प्रवेश गरेको मौसम प्रणालीका कारण सुदूरपश्चिम हुँदै कर्णाली र लुम्बिनी प्रदेशका बाँके, बर्दियासहितका जिल्लाहरुमा मौसम बदली, मेघ गर्जन, चट्याङसहित वर्षा भएको छ । भने यी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।
बिहीबार विहान बाँकेका विभिन्न स्थानमा आंशिक असिना पानी परेपछि धुम्म भएको आकाश दिनभर खुलेन । घरी पानी पर्ने र घरी रोकिने क्रम दिनभर चलिरह्यो ।
बाँकेको नेपालगन्ज लगायतको क्षेत्रमा बेलुका साढे सातबजेदेखि अचानक मौसममा परिर्वतन भइ हावाहुरी, मेघगर्जनसहित वर्षा भइरहेकोछ ।
दिनमा असिना पानी र रातीमा हावाहुरीसहितको वर्षाले नेपालगन्जको तापक्रम घटेकोछ । चिसो बढेकोछ ।
देशभर बदली, हिमपात र असिना/चट्याङसहितको वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार देशभर सबैजसो क्षेत्रमा हल्का वर्षाको सम्भावना छ भने गण्डकी र लुम्बिनीका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । यस्तै शनिबार पनि गण्डकी, बागमती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।