विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरिदैं


विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरिदैं

नेपालगन्ज २२ माघ : माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।

सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।

Kanti Aarogya Hospital Nepalgunj

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ ।

आजका दिन सरस्वतीको पूजा गरी विद्या प्रारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साईत हेर्नु पर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

नेपालगन्जको रामलिला मैदान स्थित सरस्वती मन्दिर तथा बागेश्वरी मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी विद्यार्थीको घुइँचो लागेको छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

यस्तै श्रीपञ्चमीको अवसरमा बाँकेको खजुरा गाँउपालिकामा रहेको मुसवेटवा बाबाको मजारमा मेला समेत लाग्ने गर्छ । हिन्दु, मुस्लिम दुवै समुदायको आस्थाको केन्द्र यहाँ वर्षौदेखि मेला लाग्ने गरेको हो । यहाँ बाँकेका विभिन्न ठाँउबाट हिन्दु र मुस्लिम समुदायबाट पुजाआजको लागि आउने गर्छन् । विशेषगरि विद्यालय अध्ययनरत बालबालिकाको ठूलो घूइँचो लाग्ने गर्छ । तर, यस वर्ष कोरोना संक्रमणका कारण उक्त स्थानमा मेला नलगाइने भएकोछ ।