नेपालगन्ज २३ माघ: नेपाल प्रेस युनिय कैलालीको भवन निर्माण अभियान शुरु भएको छ । सरस्वती पूजाको शुभ दिन पारेर युनियन कैलालीको धनगढीमा भवन निर्माणको अभियान शुरू भएको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर– ५ तारानगरमा युनियनको भवन निर्माण स्थलमा बोर्ड लगाईएको छ । युनियनका पदाधिकारी तथा पत्रकारहरुको सहभागीतामा निर्माण स्थलमा बोर्ड लगाएर भवन निर्माण अभियान शुरु गरिएको नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।
उनका अनुसार बोर्ड लगाईएको जमिनमा युनियनको पक्की भवन निर्माणको काम थालिनेछ । ‘सबैको सल्लाह र सहयोगले मात्रै भवन निर्माणको काम सम्भव हुन्छ ।’ अध्यक्ष देउवाले भने– ‘आउनुहोस् सबै हातेमालो गरौं । यो अभियानमा सबैको साथ र सहयोग पाउने अपेक्षा पनि गरेका छौं ।’
युनियनको भवन निर्माण गर्नका लागि भवन निर्माण समिति समेत गठन गरिएको छ । पत्रकार दीपक उपाध्यायको संयोजकत्वमा भवन निर्माण समिति बनाईएको हो । भवन निर्माण हुने स्थानको जग्गाको बनोट अनुसार नाप नक्शांकन गरेर भवन निर्माणको काम तत्काल शुरु गरिने निर्माण समितिका संयोजक उपाध्यायले बताए ।
नेपाल प्रेस युनियनले लामो समयदेखि पत्रकारहरुको हकहितका लागि काम गर्दै आएको छ । पत्रकारहरुको पेशागत हकहितका लागि लाग्न अझ सहयोग होस् भनेर भवन निर्माणको कामलाई अभियानका रुपमा अगाडी बढाईएको हो ।
भवनमा कार्यालयसँगै पत्रकारहरुका कार्यक्रमहरु आयोजना गर्नका लागि सभाहल लगायतका संरचनाहरु निर्माण गरिने अध्यक्ष देउवाले बताए ।