नेपालगन्ज २३ माघ : भूमि सुधार तथा मालपोत कार्यालयले प्रदान गर्ने सेवाप्रति सेवाग्राही असन्तुष्ट भएको पाइएको छ । मालपोत कार्यालयबाट संकलन गरिएको नागारिकको गुनासोमा यस्तो पाइएको हो ।
बास नेपालले ५० जना नागरिकहरुको गुनासो संकलन गर्दा उनीहरु कार्यालयको सेवाप्रति असन्तुष्ट रहे । बासका स्वयंसेवकहरुले सेवाग्राहीहरुको गुनासो संकलन गरेका थिए ।
सेवाग्राहीहरु मालपोतको सेवा प्रबाह बारे असन्तुष्ट रहेको, सेवा लिँदा स्पष्ट जानकारी नभएको, अस्पष्ट सूचना पाएको, कार्यालयका कर्मचारीहरुले सेवाग्राहीसंग अपेक्षित ब्यवहार नगरेको पाइएकोछ ।
सेवाग्राहीहरु मध्ये ४८ प्रतिशतले कार्यालयबाट ठिकै जानकारी प्राप्त भएको, ३२ प्रतिशतले अस्पष्ट सूचना प्राप्त भएको बताएका छन् भने २० प्रतिशतले अति स्पष्ट सूचना प्राप्त भएको अभिमत दिएका छन् ।
यसैगरी सेवा प्रदायक कर्मचारीले तपाईंको आवश्यकता र अपेक्षा कति बुझे जस्तो लाग्यो ? भन्ने प्रश्नमा अति धेरै भन्नेमा १६ प्रतिशत, थोरै भन्नेमा ३२ प्रतिशत र ठिकै भन्नेमा ५२ प्रतिशत रहेका छन् ।
त्यस्तै सेवाग्राहीहरु मध्ये १० प्रतिशतले कर्मचारीहरुबाट अभद्र, अमर्यादित व्यवहार भएको बताएका छन् । भने ५० प्रतिशतले ठिकै र ४० प्रतिशतले मिलनसार, मैत्रीपूर्ण व्यवहार रहेको बताएका छन् ।
सेवा प्राप्त गर्न आवश्यक सूचनाहरु (प्रमाण, कागजात) र शूल्क, दस्तुर बारे सेवाग्राहीहरुले मिश्रित प्रतिकृया दिएका छन् । जसमा सेवाग्राहीहरु मध्ये १० प्रतिशतले अलमल हुने गरि अस्पष्ट सूचना दिएको बताएका छन् । भने ६४ प्रतिशतले ठिकै भन्ने प्रतिकृया दिएका छन् । २६ प्रतिशतले अति स्पष्ट पारेको बताएका छन् ।
त्यसैगरी २ प्रतिशत सेवाग्राहीहरुले कर्मचारीहरुबाट समस्या समाधान दिन नसकेको, ७८ प्रतिशतले ठिकै रुपमा समस्या समाधान दिएको र २० प्रतिशतले अति सजिलो तरिकाबाट समस्या समाधान दिएको बताएका छन् ।
बासले संकलन गरेको अभिमतमा सेवाग्राहीहरु मध्ये २० प्रतिशतले लामो, झण्झटिलो प्रकृया रहेको, ७० प्रतिशतले प्रकृया ठिकै रहेको र १० प्रतिशतले अति सजिलो प्रकृया रहेको बताएका छन् ।
सेवाग्राहीहरुले शौचालय सरसफाई नभएको, टोकन प्रणाली सुचारु गर्नुपर्ने, भिडभाड व्यवस्थापन गर्नुपर्ने, कर्मचारीको उपस्थिती नियमित हुनुपर्ने प्रतिकृया दिएका छन् ।
गुनासो संकलन कार्यमा बासका स्वयंसेवकहरु अशोक रावल, आश्ना थारु, मञ्जु थापामगर, सुष्मा चौधरी, मिना घर्तिमगर लगायतले भूमिका खेलेका थिए ।