बुधबारदेखि फेरि पानी पर्ने, त्यसपछि विस्तारै गर्मी शुरु हुने


बुधबारदेखि फेरि पानी पर्ने, त्यसपछि विस्तारै गर्मी शुरु हुने

File Photo

नेपालगन्ज २५ माघ : भोली बुधबारदेखि फेरि पर्ने सम्भावना रहेकोछ । नेपालमा पश्चिमी वायुको प्रभाव देखिएकाले फेरि पानी पर्ने सम्भावना देखिएको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ का केही स्थानमा हल्का पानी पर्ने सम्भावना छ ।

बुधबारदेखि भने सदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद सजिना शाक्यले जानकारी दिइन् । यसपछि विस्तारै गर्मी सुरु हुने छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अंग्रेजी वर्षको डिसेम्बरदेखि फेब्रुअरी महिनाको अवधिलाई हिउँदयाम मानिन्छ । नेपालमा विगत ३० वर्षको अवधिमा भएको वर्षाको तथ्यांकको आधारमा औसत वर्षा निकालिन्छ ।

Kanti Aarogya Hospital Nepalgunj

मौसमविदले यसअघि नै नेपालमा हिउँदमा पनि सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेका थिए । जुन वर्षको मनसुनमा धेरै वर्षा हुन्छ त्यो वर्षको ‘पोस्ट मनसुन’ (मनसुन पछिका महिना) र हिउँदमा पनि धेरै वर्षा हुने गरेको अनुभव छ ।

यस वर्षको प्रि–मनसुन र मनसुन अवधिमा अत्यधिक वर्षा भएको थियो । सो वर्षाका कारण आएको बाढी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको थियो ।

यस्तै जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको हिउँदमा झण्डै सरदर वर्षा भएको छ । हिउँदमा ६०.९ मिलिमिटर पानी परेमा सरदर मानिन्छ । तर, यस वर्षको हिउँद सकिन बाँकी छँदै ५७.७ मिलिमिटर वर्षा भइसकेको विभागले जनाएको छ । यो सरदर वर्षाको ९९ प्रतिशतभन्दा बढी हो ।

गत वर्ष हिउँदमा जम्मा १५.५ मिलिमिटर वर्षा रेकर्ड भएको थियो । यो सरदर वर्षा (६०.९ मिलिमिटर)को करिब एक चौथाइ मात्र हो ।