नेपालगन्ज २५ माघ : राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा व्यहोरेको अनपेक्षित पराजयले विक्षिप्त बनेका कमल थापाले अन्ततः पार्टीबाट राजीनामा दिएकाछन् । राप्रपा पार्टीका निवर्तमान अध्यक्ष समेत रहेका थापाले हेटौंडामा मंगलबार पत्रकार सम्मेलन गरी उनले राप्रपाबाट अलग हुने घोषणा गरेका हुन् ।
आफूले राखेको मागको विषायमा अध्यक्ष राजेन्द्र लिङ्देनले सुनुवाइ नभएपछि राप्रपाको ‘एकता महाधिवेशन’सकिएको तीन महिना नपुग्दै पार्टीबाटै अलग हुने निर्णय गरेको उनको भनाइ छ ।
महाधिवेशन अगाडिसम्म कमल थापा राप्रपाबाट बाहिर रहने कुरा कसैको कल्पनामा पनि थिएन । राप्रपाको पर्यायका रूपमा थिए उनी । तर, राजेन्द्र लिङदेनसँग अप्रत्याशित हारबाट विक्षिप्त बनेका थापाले कठोर निर्णय लिएका हुन् । योसंगै फेरि एकपटक उनको राजनीति कठिन मोडमा धकेलिन पुगेको छ ।
राजसंस्थालाई सर्वोपरी मान्दै करिब ५ दशक राजनीति गरेका थापाले ‘राजा’ सँगको वैरभावका कारण राप्रपा छोडेका हुन् । पार्टीको महाधिवेशनमा ‘निर्मल निवासले नांगो हस्तक्षेप गरेर आफूलाई हराएको आरोप उनले लगाउँदै आएका थिए । लिङदेनको जित स्वीकारे पनि पचाउन भने नसकेका उनी निकै पीडामा थिए । महाधिवेशनमा हार निश्चित भएसँगै उनले राप्रपामा नबस्ने मनस्थिति बनाइसकेका थिए ।
महाधिवेशनयता पार्टीका कुनै पनि बैठक तथा कार्यक्रममा थापा सहभागी भएका थिएनन् । उनले दुईपटक अध्यक्ष लिङदेनलाई पत्र लेखेर निर्मल निवासमाथि छानविन गर्न माग राखेका थिए । तर, लिङदेन यसका लागि तयार भएनन् । पार्टीको मुख्य आदर्शका रूपमा रहेको संस्थामाथि नै छानबिन गर्ने कुरा उनले स्वीकार्ने सम्भावना पनि थिएन । यद्यपि उनले थापाको बहिर्गमन रोक्न प्रयास भने गरेका हुन् । उनी आफैं थापाको बूढानीलकण्ठस्थित निवासमा पुगेर भेटवार्ता गरेका थिए । भेटवार्ता सौहार्दपूर्ण त रह्यो, तर फलदायी भएन ।
राप्रपा परित्यागसँगै कमल थापाले राजसंस्थाको एजेण्डालाई पनि अनौपचारिकरूपमा बिसाएका छन् । यो झनै महत्वपूर्ण छ । जुन एजेण्डालाई उनले अत्यन्तै प्रतिकूल अवस्थामा पनि बोकेर हिँडे, जुन एजेण्डाबाट उनले शक्तिआर्जन गरे, त्यसलाई त्यागेर अघि बढ्ने निर्णय लिनु उनका निम्ति सहज अवश्य थिएन । राजा नै आफ्नो राजनीति सिध्याउन लागिपरेको निष्कर्ष निकालेका उनले यसलाई सैद्धान्तिकरण गर्दै अघोषितरूपमा राजसंस्थाको कार्यनीति त्यागेका छन् ।
उनले राप्रपा त्यागेसंगै नयाँ पार्टी गठनको गृहकार्य गरिरहेका छन् । चाँडै नै नयाँ पाटी दर्ता गर्ने उनको तयारी छ । यसका लागि उनले आफू निकट नेतासंग एक चरणको बैठक पनि बसिसकेकाछन् ।
थापाले अब धर्मको राजनीति गर्नेछन् । उनको नयाँ पार्टी ‘राजावादी’ नभइ ‘हिन्दूवादी’ हुनेछ । आगामी चुनावमा उनले हिन्दूराष्ट्र पुनःस्थापनाका लागि भोट माग्नेछन् भने राजतन्त्र पुनःस्थापनाको विषयमा मौन रहनेछन् । उनले आफूलाई गणतन्त्रवादीका रूपमा पनि उभ्याउने छैनन् । राजसंस्था अब उनका निम्ति कार्यनीतिक नभएर प्राज्ञिक विषयका रूपमा मात्रै रहनेछ । योसंगै कमल थापाको आगामी राजनीतिक यात्रा निकै चुनौतीपूर्ण देखिएको छ ।
महाधिवेशनपछि थापाले राखेका असन्तुष्टिको विषयहरूले कसैको पनि मन जित्न सकेन । न पार्टीभित्र उनलाई समर्थन मिल्यो, न पार्टीबाहिर सहानुभूति । बरु सामाजिक सञ्जालमा निरन्तर आलोचनाका पात्र बनिरहेका छन् । पार्टीबाट अलग हुँदा पनि उनले कुनै सहानुभूति प्राप्त गर्न सकेनन् । धेरैले यसलार्ई पराजय स्वीकार्न नसकेको कुण्ठाका रूपमा मात्रै बुझेका छन् । उनको इमेज निकै खस्किसकेको छ ।
थापाले गीताको किताब समातेर कसम खाएका थिए– अब राप्रपा नफुटाउने भनेर । पशुपति शम्शेर राणा र डा. प्रकाश चन्द्र लोहनीको पार्टीसँग एकता गर्दा खाएको कसम योसंगै उनले भंग गरे ।
२०६२/६३ को परिस्थिति र यो परिस्थिति फरक छ । यसबेला थापा आफैंले आफ्नो लागि प्रतिकूलता सिर्जना गरेका छन् । आफैंले आफूलाई अप्ठेरोमा धकेलेका छन् । राजेन्द्र लिङदेनको जितलाई सहजरूपमा लिएर पार्टीमा क्रियाशील रहेको भए उनीप्रतिको सम्मान बढ्ने थियो । अध्यक्ष निर्वाचित हुन नसके पनि पार्टीभित्र उनको बर्चश्व थियो नै । तर, उनले अध्यक्षको कुर्सीमा अर्को व्यक्ति स्वीकार्न सकेनन् । अब आफैं नयाँ पार्टी बनाएर अध्यक्षको कुर्सीमा बस्न तत्पर भएका छन् ।