नेपालगन्ज २७ माघ : नेपालगन्जको विशालनगर चोकमा वडाअध्यक्ष दीपक बर्माले हाइमास्ट लाईटको शिलान्यास गरेका छन् । केहीदिन अघि मात्रै तेजनगरमा हाइमास्ट शिलान्यास गरेका वडाअध्यक्ष बर्माले हप्तादिनमै पुनः अर्को हाइमास्ट लाईट शिलान्यास गरेका हुन् ।
सर्वसाधरणलाई रातको समयमा उज्यालो प्रदान गर्न वडाअध्यक्ष बर्माले वडाको बजेटबाट हाइमास्ट निर्माण गरिरहेकाछन् । शिलान्यासका क्रममा बोल्दै वडाअध्यक्ष बर्माले भने–‘तेजनगरमा हाइमास्ट लाईट निर्माणको कार्य सम्पन्न भइसकेकोछ । त्यसमा लाईट जडान गरि छिटै सञ्चालनमा ल्याउनेछौं ।’
उनले भने–‘वडाको बस्ती, टोल उज्यालो बनाउने योजनाअनुरुप रात्रीकालिन सर्वसाधरणको आवागमन र सहजताका लागि हाइमास्ट लाईट जडान गरेका हौं । वडाको समग्र विकास र समस्या समाधानमा म लगायत वडाको टिम प्रतिबद्ध छ, सोही अनुरुप अघि बढिरहेकाछौं ।’
वडाले आफ्नै बजेटबाट गत वर्ष नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –१८ को एसके पेट्रोल पम्म नजिक र कारकाँदो चोकमा हाइमास्ट लाईट जडान गरिसकेकोछ । यस वर्ष वडा नम्बर–१८ को तेजनगर र विशाल चोकमा गरि थप दुई वटा वडाको बजेटबाट हाइमास्ट लाईट जडान भइरहेको वडा सदस्य दिग्बिजय ढुंगानाले बताए ।
नेपालगन्ज–गुलरिया बाइपास सडकको वाटरपार्क नजिक विशालनगर चोक सुरक्षाको दृष्टिकोणले अति संवेदनशील चोक मानिन्छ । उक्त चोक वडा नम्बर–१८ र वडा नम्बर– १ को सीमामा पर्छ ।
सोही चोकबाट जानकी गाउँपालिकाको बनियागाउँ, गुरुवागाँउ, बुढियागाँउका बासिन्दाहरु राती अबेरसम्म आवतजावत गर्ने गर्छन् । सोही बाटो हुदैँ खजुराको बुद्धपुर, एफ गाउँ, राँझा, पिप्रहवा, गनापुर र हवल्दारपुरतर्फसम्मको नाका जोडिएकोछ ।
यस्तै विशाल चोक भएर धम्बोझीका विभिन्न टोल, नन्दनीमील हुदैँ नेपालगन्ज–गुलरिया सडक र नजिकै ईन्द्रपुर गाउँतर्फ समेत सर्वसाधरणको आवागमन हुने गर्दछ । यस्तै विशाल चोकबाट कारकाँदो गाउँहुदै नेपालगन्ज–कोहलपुर सडक जोडिन्छ ।