नेपालगन्ज २९ माघ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अर्को वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेश स्तरबाटै सञ्चालन हुने बताएका छन् । हाल राष्ट्रिय परीक्षा बोर्डमार्फत् संघीय स्तरमा सञ्चालन हुँदै आएको एसईई अर्को वर्ष प्रदेश स्तरमा बोर्ड भइ त्यसै मार्फत् सञ्चालन हुने मन्त्री पौडेलले जानकारी दिए ।
शिक्षा पत्रकार समूहले बुझाएको शिक्षा सुधार सम्बन्धी ध्यानआकर्षण पत्र बुझ्दै मन्त्री पौडेलले ऐन नआउँदा यस वर्ष एसईई प्रदेशमा हस्तान्तरण गर्न नसकिएको बताए । मन्त्री पौडेलले भने–‘हामी यसैवर्ष प्रदेशलाई दिने तयारीमा थियौं, केही कानूनी जटिलताले गर्दा रोकियौं । अर्को वर्ष ऐनमै व्यवस्था गरेर प्रदेशलाई हस्तान्तरण हुन्छ ।’
उनले शिक्षाको बजेटलाई आउँदो आर्थिक वर्षबाट दोब्बर बनाउने गृहकार्य गरिरहेको बताए । शिक्षाको भिजन पेपर बनाएर बजेट दोब्बर बनाउन काम गरिरहेको मन्त्री पौडेलको भनाई थियो ।
४ देखि १२ वर्षका बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोपका लागि विश्व स्वास्थ्य संगठनको स्वीकृती पाएका खोप ल्याउने गृहकार्य भइरहेको उनले जानकारी दिए ।
सो अवसरमा खुला विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड लगायतमा खुला प्रतिस्पर्धाबाट नेतृत्व छनोट गरिसकिएको र अन्तपनि राजनीतिक हस्तक्षेप बिनै नेतृत्व गरिने प्रतिबद्धता मन्त्री पौडेले जनाए ।
शिक्षक महासंघका करिब सबै माग पुरा गर्ने प्रक्रिया शुरु भएको भन्दै अब शिक्षकलाई पेशाप्रति जिम्मेवार र उत्तरदायी बनाइने पौडेलको भनाई छ । शिक्षकलाई निजामति कर्मचारी सरहको सुविधा, ७ सय शैयाको शिक्षक अस्पताल लगायतका माग सम्बोधन गरिएको उनको भनाइ थियो ।
यस्तै सातै प्रदेशमा मेडिकल कलेज, सबै स्थानीय तहमा प्राविधिक शिक्षालयको विस्तार गर्ने प्रक्रिया शुरु भइसकेको र भएका विश्वविद्यालयहरुको वर्गिकरण गरी व्यवस्थापन गर्न लागिएको मन्त्री पौडेलले बताए । विद्यालयलाई राजनीति मुक्त बनाइने र शिक्षकको दलीय आबद्धतामा रोक लगाइने उनको भनाई थियो ।
शिक्षा पत्रकार समूहका तर्फबाट अध्यक्ष तुला अधिकारी, उपाध्यक्ष कृष्ण मल्ल, महासचिव जनक नेपाल, सचिव रोशन क्षेत्री गाउँले, कोषाध्यक्ष ममता थापा र पूर्वअध्यक्ष सुदर्शन सिग्देल सहितको टोलीले शिक्षा क्षेत्रमा प्राथमिकता दिनु पर्ने विषयमा मन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।