आजदेखि सर्वोच्चको सबै सेवा खुल्यो, बारले पुनः आन्दोलन थाल्यो


आजदेखि सर्वोच्चको सबै सेवा खुल्यो, बारले पुनः आन्दोलन थाल्यो

नेपालगन्ज १ फागुन : सर्वोच्च अदालतले आजबाट नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्दैछ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्णबैठक (फुलकोर्ट)ले फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसअघि गत माघ ४ गते बसेको पूर्ण बैठकले माघ ५ गतेदेखि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको थियो । सो अवधिमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमित रूपमा सुनुवाइ भएको थियो ।

उक्त अवधिमा मुद्दा फिर्ता, तामेली एवम मिलापत्रसम्बन्धी काम कारबाही नियमित रुपमा सञ्चालन हुने, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदन तथा प्रतिवेदन उपर सुनुवाइ भएका थिए । अब आजदेखि सबै प्रकारका सेवा सञ्चालन हुने सर्वोच्च अदालतले जनाएको छ ।

यसैबीच, नेपाल बार एसोसिएसनले पुनः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन चर्काउने भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोनाका कारण हाल भर्चुअल रुपमा हुँदै आएको आन्दोलन आजदेखि भौतिकरुपमै शुरु गर्न लागिएको बारका महासचिव अधिवक्ता लीलामणी पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बार न्यायपालिकाको सुद्धिकरण र सुदृढीकरणका लागि १०५ दिन अघिदेखि न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन कार्यान्वयन तथा प्रधान न्यायाधीश जबराको राजीनामा माग गरि आन्दोलित हुँदै आएको छ ।

‘सर्वोच्च प्राङ्गणमा निरन्तर चलिरहेको विरोध कार्यक्रम कोभिड–१९ को संक्रमण तथा अदालतमा समेत सेवा संकुचन गरिएको र नेपाल सरकारबाट जारी विभिन्न मापदण्ड, निर्देशन समेतका कारण भर्चुअल माध्यमबाट सञ्चालन हुँदै आएकोमा हाल संक्रमणको अवस्था सामान्य हुँदै गएको र नेपाल सरकारले पनि पूर्व मापदण्ड, निर्देशन समेत संशोधन गरेको कारण यहि २०७८ फागुन १ गतेदेखि बिहान ११ः०० बजेदेखि १२ः०० बजेसम्म सर्वोच्च अदालत केन्द्रित हाम्रो आन्दोलन कार्यक्रम भौतिक रुपमा नै निरन्तर जारी रहने व्यहोरा जानकारी गराउँदै उपत्यकामा रहनु हुने सम्पूर्ण कानून व्यवसायीज्यूहरुको सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं’, बारको विज्ञप्तिमा भनिएको छ ।