File Photo
नेपालगन्ज १ फागुन : प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि नेपाल बार एशोसिएसनले आन्दोलन स्थगित गरेकोछ । बारद्वारा सर्वोच्च अदालत परिसरमा केन्द्रित आन्दोलन स्थगित गरिएको हो ।
आफूहरुले अघि सारेको माग प्रारम्भिक रुपमा सम्बोधन भएको निष्कर्षका साथ बारले प्रदर्शनलाई नेपाल बार एशोसिएसनको प्राङ्गणमा सीमित गर्ने निष्कर्ष निकालेको छ । बारले अब आफूहरुको मागलाई वैचारिक रुपमा अघि बढाउने जनाएकोछ ।
बार उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकामा विकृति, विसंगति फैलाएकाले आफूहरुले बाध्य भएर सर्वोच्च अदालतमै नाराबाजी र प्रदर्शन गर्नुपरेको बताइन् ।
‘अब हामी सर्वोच्च अदालतमा नाराबाजी र प्रदर्शन गर्दैनौं’ बस्यालले भनिन्, ‘महाअभियोगलाई पारित गराउन दबाव दिनका लागि बार परिसरमै कार्यक्रम हुन्छ, बारको मागलाई अब वैचारिक रुपमा समेत अघि बढाउछौं ।’
यसअघि बारले आईतबार संसद् सचिवालयमा राणाविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि एक विज्ञप्ति जारी गर्दै महाअभियोग पारित गराउन सकारात्मक पहल गर्न सबै राजनीतिक दल र सांसदलाई आह्वान गरेको थियो ।
बारले राणाको राजीनामाको माग गर्दै गत कात्तिकदेखि ‘न्यायपालिका शुद्धीकरण’को आन्दोलन गर्दै आएको छ। राणाले पदबाट राजीनामा नदिने बताएपछि बारले सबै राजनीतिक दलहरुलाई राणाविरुद्ध महाअभियोग दर्ता गर्न भन्दै ध्यानाकर्षण पत्र समेत बुझाएको थियो ।
आईतबार सत्तारुढ गठबन्धनका ३ दल (नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी)का ९८ जना सांसदहरुले राणाविरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् । महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश राणा स्वतः निलम्बित भएका छन् ।