नेपालगन्ज १ फागुन : भ्यालेन्टाईन डे मनाउने पश्चिमा संस्कृति भए पनि नेपालमा यसप्रतिको आकर्षण केही वर्ष यता ह्वात्तै बढ्दै गएको छ । युवा युवतीले यस अवसरमा विभिन्न प्रतियोगितासमेत गर्छन् । तर, कोरोनाका कारण पहिलेजस्तो वातावरण नभएकाले औपचारिक रुपमा यस्ता गतिविधि हुन सकेको छैन ।
अझ रोचक कुरा त भ्यालेनटाइन डे कसरी मनाउन थालियो भन्ने कुरा स्वयम भ्यालेनटाईन डेका लागि मरिहत्ते गर्ने किशोरकिशोरी, युवाहरुलाई थहा नै छैन । आधुनिकता र २१ औं शताब्दीको पुस्ताको हौवा दिनेहरु त्यो कुरा थाहा पाउन त्यति उत्सुकता पनि जनाउँदैनन् । उनीहरूले यो दिवसलाई फेशनका रूपमा लिने गरेका छन् र फेशनमा बहकिएर प्रेम प्रकट गर्ने अवसरका रूपमा लिने गरेका छन् । त्यसैले जानेर, नजानेर भरखरका किशोरकिशोरी पनि गिफ्ट दिन र लिन उत्सुक हुन्छन् । र पछि कस्मेटिक प्रेमको प्रभावमा पछुताउने गरेकाछन् ।
यस दिन युवायुवती एक अर्कासँग नजिक हुन र हेलमेल गर्न एकले अर्काका लागि उपहार दिने गर्दछन् । सँगै बसेर खान निम्त्याउँछन् र त्यो कोमल हृदयभित्रको भावना साटासाट गर्दछन् । ती सबै काम गर्नका लागि उनीहरू यो समाजमा अलि उकुसमुकुसको अनुभव गर्दछन् र खुल्ला र अनुकूल स्थानमा जान र बस्न मन पराउँछन् । कतिपय युवायुवती भावनामा वहेर तथा आजको दिनमा प्रेम प्रस्ताव राख्नु राम्रो हो भनेर प्रेम प्रस्ताव राख्ने गरेको पनि सुनिन्छ ।
यो दिनमा मात्र प्रेम गर्ने हो त ? प्रेमको प्रतिक युवा युवतिमात्र हुन त ? प्रेम र मोहमा फरक छैन त ? मानव जीवन र प्रेमको बृहत दायरा छैन त ? प्रेमको जिवन्तता र सार्थकता के हो ? प्रेम विनाको जिवनमा परिवारमा, ब्रहमाण्ड र समग्र विश्व रहन सक्ला ? यसको जवाफ आफै खोज्नुहोस् ।
प्रेम वासना भन्दा माथि होस्, प्रेम मानवता परिधिमा समाहित होस्, जीवन र जगतको कल्याणमा होस् । हरेक आत्माले सम्मानश्रद्धा र विश्वास गरोस् । असल भावनाको कदर गरोस् । खुशी र सन्तुष्टी बढाओस् । सर्वजन हिताय सर्वजन सुखायको भावलाई सदैब आत्मसात गरोस् । सम्मान सभ्यता सँस्कृति र मर्यादालाई सदैव दण्डवत गरोस् ।
प्रेम गर्ने होईन हुने हो, अभिव्यक्ति होईन महशुस गर्ने हो । मन मुटु र मगजको संगम हो समर्पण र विश्वासको माला हो । संसारकै अमूल्य नीधि हो ।
हामीकहाँ बाहिरको कुराले छिटो प्रभाव पार्दछ । त्यसमा पनि यो विषय नै यस्तै प¥यो । प्रेम गर्नुलाई नराम्रो भन्ने अवस्था अहिले रहेन । कुरा यत्ति हो कि कुन उमेरमा कसरी गर्ने सोच्नुपर्नेमा कुरा त्यो हो । एउटा मर्यादामा रहेर भविष्यको ख्याल गर्नु आवश्यक छ । अन्यथा प्रेम गर्नु राम्रो कुरा हो । राम्रो काम कुरा गर्नेलाई हामीले शुभकामना दिर्नुपर्दछ । भ्यालेन्टाइन डे को उपलक्ष्यमा हाम्रो यही शुभकामना छ ।