नेपालगन्ज ३ फागुन : प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ । मंगलबार संसद् सचिवालयले जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्ताव समावेश गरिएको छैन । त्यसअघि सभाभुमखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा प्रधानमन्त्रीले थारू आयोगको प्रतिवेदन पेश गर्ने र तीन पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने विषयमा मात्र समेटिएको छ ।
नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले भने भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने बताएका छन् ।
यसैबीच, अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले भोलि (बुधबार)का लागि नेपाल बन्दको घोषणा गरेका छन् ।
नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बुधबार देशव्यापी बन्द आह्वान गरेका हुन् ।
सरकारले बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गरी पारित गर्ने प्रयास गरेको भन्दै कम्युनिस्ट पार्टीहरुले देशव्यापी बन्दको आह्वान गरेका हुन् । एमसीसीविरुद्ध फागुन ५ गते (बिहीबार)देखि थप संघर्षका कार्यक्रमहरु घोषणा गरिने पनि जनाइएको छ ।