नेपालगन्ज ४ फागुनः अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले गरेको नेपाल बन्दका कारण देशभरको जनीवन प्रभावित बनेकोछ ।
नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले आज (बुधबार) देशव्यापी बन्द आह्वान गरेका हुन् ।
सरकारले बुधबारको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गरी पारित गर्ने प्रयास गरेको भन्दै कम्युनिस्ट पार्टीहरुले देशव्यापी बन्दको आह्वान गरेका हुन् । उनीहरुका अनुसार एमसीसीविरुद्ध फागुन ५ गते (बिहीबार)देखि थप संघर्षका कार्यक्रमहरु घोषणा गरिने पनि जनाइएको छ ।
यसैबीच, बन्दकर्ताले बाँकेको बैजनाथ गाउँपालिकामा एउटा सरकारी गाडीमा तोडफोड गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको कृषि मन्त्रालयको नाममा रहेको गाडीलाई उनीहरुले तोडफोड गरिदिएका हुन् । पूर्व–पश्चिम राजमार्ग अन्तरगत बैजनाथ गाउँपालिकाको बनकटवा चोकमा बुधबार बिहान साढे ५ बजेतिर बन्दकर्ताहरुले गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
सुदुरपश्चिम प्रदेश ०१–००१ झ ४०१ नम्बरको कृषि मन्त्रालयको गाडीमा बन्दकर्ताले तोडफोड गरिदिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । बन्दमा सवारी साधन चलाएको भन्दै बन्दकर्ताले तोडफोड गरिदिएको चालकले बताएका छन् ।
यता एमसीसी विरुद्ध गरिएको बन्दको प्रभाव बाँकेको नेपालगन्जमा आंशिक प्रभाव परेकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेले बाक्लो सुरक्षाकर्मी तैनाथ गरेकोछ ।
नेपालगन्जका मुख्य मुख्य चोकमा सुरक्षा तैनाथी बढाइएको छ भने हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर राखी ब्याकअप सुरक्षाकर्मी तयारी अवस्थामा राखिएकोछ । यसकासाथै सशस्त्र प्रहरीको पनि बाक्लो उपस्थिती रहेकोछ ।
नेपालगन्जमा छिटफुटरुपमा सवारी साधन चलेकाछन् । भने अधिकांश पसल, ब्यवसाय बन्द रहेको भएता पनि सर्वसाधरणको उपस्थित न्यून रहेकोछ ।