एमसीसीबारे सत्ता गठबन्धन दलहरुबीच ‘निर्णायक’ वार्ता हुने


एमसीसीबारे सत्ता गठबन्धन दलहरुबीच ‘निर्णायक’ वार्ता हुने

File Photo

नेपालगन्ज ४ फागुन : एमसीसीबारे सत्ता गठबन्धन दलहरुबीच निर्णयाक वार्ता हुने भएकोछ । एमसीसी परियोजना पास गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलहरुबीच नै मतभेद जारी रहेका बेला भोलि (बिहीबार) निर्णायक छलफल हुने भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भोलि(बिहीबार) प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलका शीर्ष नेताहरूसँग निर्णायक छलफल गर्न लागेका हुन् ।

एमसीसी जसरी पनि टेबल गरेर पास गर्नुपर्ने तयारीमा जुटेका प्रधानमन्त्री देउवाले गठबन्धनमा रहेका दलहरुकै असहयोगपछि निर्णायक छलफल गर्न लागेका हुन् । नेताहरुको दिनैपिच्छे फरकफरक धारणा आउन थालेपछि तथा कहिले सहमति गरे जस्तो गर्ने र फेरी विरोध गर्ने प्रवृति देखिन थालेपछि भोली प्रधानमन्त्रीले निर्णायक छलफल गर्न लागिएको बताइएकोछ ।

प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारी थियो । सरकारको नेतृत्व गरेको दल नेपाली काँग्रेसले पनि एमसीसी जुनसुकै हालतमा पनि पास गर्ने निर्णय गरिसकेको थियो । तर, सत्ताघटक नेकपा माओवादी केन्द्रको आजको संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी टेबुल गरिए गठबन्धन तोडिने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

त्यस लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्री र प्रचण्डबीचको छलफलपछि आज एमसीसी टेबल नगर्ने सहमति भएको छ । भोलि गठबन्धनको बैठक राखेर निर्णय गर्नुपर्ने विषयमा दुई नेताबीच सहमति बनेको हो ।

एमसीसी पास गर्न नहुने भन्दै देशव्यापी विरोध प्रदर्शन भइरहेको छ । सरकारमा सहभागी रहेका दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका जनवर्गीय संगठनहरुले नै एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन् ।