नेपालगन्ज ४ फागुन : नेकपा एमालेले प्रतिनिधि सभामा अवरोध खडा गरेको १६२ दिन पुगेकोछ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज(बुधबार) पुनः प्रतिनिधि सभा बैठकमा अवरोध गरेपछि यो अवधि १६२ दिन पुगेको हो ।
गत भदौ २३ गतेदेखि प्रतिनिधि सभा बैठकमा निरन्तर अवरोध सिर्जना गर्दै आएको एमालेले बुधबार पनि बैठकमा अबरोध गरेपछि शुक्रबारसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएकोछ ।
एमालेले सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने वा माधवकुमार नेपाललगायतका १४ जना सांसदको पद खारेज हुनुपर्ने माग राख्दै आएको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार शुरु भएको बैठकमा पनि एमालेले नाराबाजीलाई निरन्तरता दिएको थियो ।
सभामुख सापकोटाले दिउँसो सवा १ बजे बैठक शुरु गर्नेबित्तिकै एमाले सांसदहरु आफ्नो स्थानबाट उठेर वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए ।
उनीहरुले गैर सांसदहरुलाई निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदमा भेदभावपूर्ण व्यवहार बन्द गर जस्ता नारा लगाए ।
प्रतिनिधि सभाको आजको बैठक तीन जना पूर्वसांसदको शोक प्रस्ताव पारित गरेर सकिएको छ । अर्को बैठक २०७८ फागुन ६ गते शुक्रबार दिनको १ बजे बस्ने सभामुख सापकोटाले जानकारी दिए ।