घरबारीटोलमा प्राविधिक विद्यालय निर्माण गरिदैँ


घरबारीटोलमा प्राविधिक विद्यालय निर्माण गरिदैँ

नेपालगन्ज ४ फागुन : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ स्थित घरबारीटोलमा प्राविधिक विद्यालय निर्माण गरिने भएकोछ । वडा कार्यालयले बुधबार विधिपूर्वक प्राविधिक भवन निर्माणस्थलमा भूमी पूजापाठ समेत गरेकोछ ।

सिग्नेट होटलको पछाडीपट्टि रहेको सरकारी ५ कठ्ठा २ धुर जमिनमा उक्त प्राविधिक विद्यालय निर्माणको थालनि गरिएको हो । वडा कार्यालयको तदारुक्ताले आगामी ५ वर्षभित्र प्राविधिक विद्यालय निर्माण गरि सञ्चालनमा ल्याउने तयारी भएकोछ ।

प्राविधिक विद्यालय निर्माणका लागि गरिएको भूमि पूजाका क्रममा लुम्बिनी प्रदेश सरकारको वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले प्राविधिक धारको विद्यालय निर्माणको सफलताको शुभकामना दिए ।

बाँकेका प्रदेश सभा सदस्य एबम ओलम्पियन तथा घरबारीटोलबासी समेत रहेका मन्त्री हमालले घरबारीटोल खेलकुद र शिक्षाका लागि उर्वर भूमि भएको भन्दै प्रदेश सरकारको तर्फबाट हुनसक्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

Kanti Aarogya Hospital Nepalgunj

सरकारीतर्फ नेपालगन्जमा एउटामात्रै प्राविधिक विद्यालय रहेकोले प्रस्तावित प्राविधिक विद्यालयले नगरको शैक्षिक गुणस्तरतामा समेत सहयोग पुग्ने मन्त्री हमालको भनाईछ ।

नेपालगन्ज वडा नम्बर– २ मा २ वटा मात्रै सरकारी विद्यालय रहेकोछ । घरबारी टोलमा आधारभूत तहको र बागेश्वरीटोलमा प्रावि तहको विद्यालय रहेकोछ । यी दुई विद्यालयलाई मर्ज समेत गर्ने वडा कार्यालयको योजना रहेकोछ ।

वडाअध्यक्ष सुनिल सिंह हमालले भवन निर्माणको सम्पूर्ण कार्य पुरा भइसकेको भन्दै छिटै नै डिपीआर तयार पारेर निर्माण कार्य अघि बढाइने र प्रस्तावित माध्यमिक विद्यालयको भवनलाई निकट भविष्यमा प्राविधिक धारको विद्यालय बनाइने बताए ।

‘डिपीआर बनाएर आगामी वैशाखमा बजेट निकाशा हुन्छ, सोही बेला भवन निर्माणका लागि शिलान्यास गरिनेछ’ वडाअध्यक्ष हमालले थपे–‘संघीय सरकारको बजेटबाट आगामी ५ वर्षभित्र भवन निर्माण गरि सञ्चालनमा ल्याउेछौं । प्राविधि विद्यालय सञ्चालनमा आएसंगै घरबारी टोल र बागेश्वरी टोलको विद्यालयका सबै विधार्थी यही भवनबाट अध्ययन गर्न पाउनेछन् ।’

करिब साढे दुई करोड लागतमा प्राविधिक विद्यालय निर्माण गरिनेछ । वडाअध्यक्ष हमालले प्राविधिक विद्यालय निर्माणस्थल अगाडी आर्कषक ओलम्पिक गेट बनाइनेछ । ‘घरबारीटोल ओलम्पियनको टोल हो, खेलाडीको टोल हो, शैक्षिक क्षेत्रको हब पनि हो त्यसैले ओलम्पिकको रिङ, मस्कटसहितको गेट निर्माण हुन्छ’ उनले थपे ।

नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रध्यानाध्यापक ललिता उपाध्याय, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमादेवि उपाध्याय, वडासदस्यद्व ध्रुव दाहाल र आशा विष्ट लगायतले सामुहिकरुपमा प्राविधिक भवन निर्माणार्थ भूमि पूजा गरेका थिए ।

सोक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमादेविले भवन निर्माणका लागि वडा, नगरपालिका, स्थानीय राजनितिक दल तथा सहयोगी सम्पूर्णलाई धन्यबाद दिदै सहयोगका लागि आग्रह समेत गरिन् ।

घरबारी टोल स्थित आधारभूत विद्यालयकी प्रध्यानाध्यापक ललिता उपाध्याका अनुसार उक्त विद्यालय २०२० सालमा स्थापना भएको थियो । घनाबस्ती र जमिन अभावमा पठनपाठनमा कठिनाई हुदैँ आएकोमा नयाँ भवनले राहत मिल्ने बताईन । उनका अनुसार कक्षा ८ सम्म सञ्चालित उक्त विद्यालयमा २२५ जना विद्यार्थी रहेकाछन् ।

भूमि पुजाको अवसरमा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु सुरेन्द्रनाथ सापकोटा, केशबहादुर हमाल, सिद्धिकुमार महर्जन, समाजसेवी ललितकुमार रौनियार, प्रदीप श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।