देउवा र प्रचण्डबीच भेटवार्ता : गठबन्धनको बैठक आज बेलुका ५ बजे बस्ने


देउवा र प्रचण्डबीच भेटवार्ता : गठबन्धनको बैठक आज बेलुका ५ बजे बस्ने

नेपालगन्ज ५ फागुन : अमेरिकी सहयोग परियोजना एमसीसीको विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको थियो ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार देउवा र प्रचण्डबीचको भेटवार्तापछि आज दिउँसो ३ बजे बोलाइएको सत्ता गठबन्धनको बैठक पनि सरेको छ ।

प्रेस संयोजक परियारका अनुसार गठबन्धनको बैठक आज बेलुका ५ बजे बालुवाटारमा नै बस्ने भएको छ ।

शुक्रबार प्रतिनिधिसभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

बुधबारकै संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी थियो । तर, दलहरुबीच सहमति कायम हुन नसकेको भन्दै त्यसलाई स्थगित गरिएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तामा एमसीसी संसदमा पेश गर्नुभन्दा अघि गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो । त्यसैले आजको गठबन्धनको बैठक एमसीसीको सम्बन्धमा निर्णायक हुनसक्ने अनुमान छ ।

माओवादी केन्द्रले एमसीसीलाई जबरजस्ती अघि बढाए गठबन्धन तोडिने चेतावनी दिएको छ । माओवादी केन्द्रले हिजो एमसीसीको विरोधमा आफ्ना भ्रातृ संगठनहरुलाई नयाँबानेश्वर क्षेत्रमा सडकमा उतारेको थियो ।

नेपाली काँग्रेस एमसीसी देशकै हितमा भएको भन्दै यसलाई जस्ताको तस्तै संसदबाट पारित गर्नुपर्ने पक्षमा छ । तर, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधन विना यसलाई संसदमा लैजान नहुने अडानमा छन् ।

जनता समाजवादी पार्टी (जसपा)ले एमसीसीबारे पार्टीको आधिकारिक धारणा तय गरिसकेको छैन । पार्टी अध्यक्ष उपेन्द्र यादव यस विषयमा मौन देखिएका छन् । यद्यपि संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले भने एमसीसीको पक्षमा आफ्ना धारणा राख्दै आएका छन् ।

सत्ता गठबन्धनको अर्को एक दल राष्ट्रिय जनमोर्चा भने एमसीसी खारेज गर्नुपर्ने पक्षमा छ ।

सत्ता गठबन्धनको आजको बैठकमा सहमति जुटाएर शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी छ ।