सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, शुक्रबार बिहान फेरि बस्ने


सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, शुक्रबार बिहान फेरि बस्ने

File Photo

नेपालगन्ज ५ फागुन : एमसीसीलाई सदनबाट अनुमोदन गराउने सम्बन्धमा सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले कुनै निर्णय गर्न नसकेको हो ।

बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको हो । अपराह्न ५ देखि शुरु भएको बैठकमा एमसीसीका विषयमा छलफल थियो ।

करिब ३ घण्टा चलेको बैठक विना निष्कर्ष सकिएपछि शुक्रबार बिहान १० बजे पुनः बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई सहभागी थिए ।

Kanti Aarogya Hospital Nepalgunj

गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले भने आफूहरुलाई बैठकबारे जानकारी नै नभएको बताएको छ । बुधबार प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच भएको छलफलपछि गठबन्धनको बैठक तय भएको थियो ।

जसरी पनि एमसीसी टेबल गरेर पास गर्नुपर्ने तयारीमा जुटेका प्रधानमन्त्री देउवाले गठबन्धनमा रहेका दलहरुकै असहयोगपछि निर्णायक छलफल गर्न लागेका हुन् ।

एमसीसी फागुन १६ गतेभित्र जसरी पनि निष्कर्ष पु¥याउने भन्नेबारे प्रधानमन्त्री देउवा लागिपरेकाछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदको अवरोध हटाउनुपर्ने शर्त राखेका हुन् ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा लैजानुपूर्व संसदको अवरोध हट्नुपर्ने बताएका छन् ।

बैठकमा अहिलेसम्म ऋण तथा अनुदान सम्झौता संसदमा नलगेको भन्दै दुबै दलका नेताहरुले एमसीसीबारे पनि छलफल गर्नुपर्ने बताएका छन् । उनीहरुले एमसीसी संसदमा टेबल गर्नुअघि एमालेसँग सम्वाद गरेर अवरोध हटाउने वातावरण बनाउन प्रधानमन्त्री र काँग्रेस नेताहरुलाई आग्रह गरेका छन् ।