बिनौना(बाँके) ५ फागुनः नेपाली काँग्रेसका सह–महामन्त्री किशोरसिंह राठौंरले एमसीसीका विरुद्ध कम्युनिष्टले जनतामा भ्रम सिर्जना गरेको दावि गरेकाछन् ।
नेपाली काँग्रेस राप्तीसोनारीको कार्यालय उद्घाटन तथा कार्यकर्ता भेटघाटलाई बिहीबार सम्बोधन गर्दै नेता राठौंरले एमसीसीलाई कम्युनिष्ट पार्टीको सरकारले संसदमा दर्ता गरेको र त्यसलाई अहिले काँग्रेस नेतृत्वको सरकारले संसदमा छलफल गराउन खोज्दा यस्तो भ्रम सिर्जना गरेको बताए ।
एमसीसी नेपालले प्राप्त गर्न लागेको विकास सम्बन्धी परियोजना भएपनि सत्ता र जानीतिक स्वार्थका कारण विवादमा ल्याएको उनले प्रष्ट्याए ।
‘संसदमा छलफल गरेर त्यसमा के कुरा गर्नुपर्ने हो, परिमार्जन गर्नुपर्ने भए गरौं, के गर्न सकिन्छ गरौं ।’ उनले भने ‘कम्युनिष्ट पार्टीले एकपछि अर्को गल्ती गर्दै जाने र सम्पूर्ण दोष नेपाली काँग्रेसलाई दिन पाइदैन ।’
प्रतिनिधी सभाका सांसद समेत रहेका राठौरले भने–‘एमसीसी आउँदाखेरी यो देशमा अमेरिकी सेना आउने र देश नै कब्जा गर्ने भनेर कम्युनिष्टहरुले निराधार रुपले हल्ला फिजाएकाछन् ।’
स्थानीय तहको निर्वाचन नजिक आइसकेको बताउँदै उनले वडादेखी पालिकासम्म काँग्रेसलाई जिताउन कार्यकर्ताहरु सक्रिय हुनुपर्ने बताए । ‘यो देशको जिम्मेवार पार्टी भनेको नेपाली काँग्रेस हो, जनताप्रति उत्तरदायी पार्टी नेपाली काँग्रेस हो, जहिले जहिले हामीले जिम्मेवारी पाएका छौं, त्यो जिम्मेवारी हामीले पुरा गरेका छौं,’ नेता राठौंरले भने ।
पार्टीमा न्याय हुनुपर्छ, नेताले न्याय गर्नुपर्छ, म कुन तहमा छु, कुन जिम्मेवारीमा छु भन्ने महसुस गर्नुपर्छ । पार्टीलाई विचलित गर्ने खालका अभिब्यक्ति आउँदा दिनमा नदिन र त्यस्ता गतिविधी नगर्न उनलेचेतावनी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले नेपाली काँग्रेसप्रति जनताको लहर बढेको भन्दै काँग्रेसलाई जिताउने अभियानमा सबै लाग्न नेता, कार्यकर्तालाई आग्रह गरे । निर्वाचनमा जनताले काँग्रेसलाई जिताए मात्र देशमा विकास र समृद्धि सम्भव रहेको उनले दावि गरे ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले काँग्रेसले जित्ने र काँग्रेसकै नेतृत्वमा सरकार बन्ने विश्वास ब्यक्त गरे । आगामी निर्वाचनमा नेपाली जनताले काँग्रेसलाई निर्वाचित गरेर सरकार सञ्चालनको जिम्मेवारी दिने मन्त्री हमालले बताए ।
नेपाली काँग्रेस राप्तीसोनारी कार्यालय वडा नम्बर– १ अगैयामा उद्घाटन गरेर वडा नम्बर–५ बिनौनामा कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको थियो । सो क्रममा प्रमुख अतिथी राठौरले नेकपा माओबादी केन्द्रसहित विभिन्न पार्टी परित्याग गरेका २ सय १७ जनालाई काँग्रेसमा प्रवेश गराएका थिए ।
नेकपा माओबादी केन्द्र राप्तीसोनारीका प्रभावशाली नेतृ एवम् माओबादी निकट नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन राप्तीसोनारीका अध्यक्ष तृष्णा स्याङतान लामा लगायत काँग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली काँग्रेस राप्तीसोनारीका सभापति भिमबहादुर रानाक्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा काँग्रेस बाँकेका सभापति किरण कोइराला, जिल्ला सचिव तप्त पौडेल, राप्ती सोनारी गाउँपालिका अध्यक्ष एवम् काँग्रेस नेता लाहुराम थारु, क्षेत्र नम्बर–१ का सभापति पोषण केसी, क्षेत्र नम्बर– १ का निर्वतमान सभापति माधवराम खत्री, काँग्रेस नेतृ सविना ओली लगायतले सम्बोधन गरेका थिए ।