नेपालगन्ज : हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुदाँ बाँकेमा ३९ घर जलेर खरानी भएको छ । भने एक जना जलेर घाइते भएकीछन् । बाँकेको डुडुवा गाउँपालिकामा बुधबार बिहान आएको हावाहुरीसँगै चट्याङबाट आगलागी भएको हो ।
डुडुवा गाउँपालिका वडा नम्बर–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण स्थानीय नन्की यादव जलेर घाइते भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । चट्याङपछि स्थानीय रामखेलावन यादवको घरबाट आगो शुरु भएको थियो । आगलागीका कारण डुडुवा गाँउपालिकामा ३८ र खजुरा गाँउपालिकामा १ घर गरि ३९ घर जलेर नष्ट भएको छ ।
हावाहुरीसँगै भएको आगलागीले आसपासको घरहरु जलाएको हो । आगलागि हुदाँ घर सहित लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ । आगलागीबाट घाइते भएकी डुडुवा गाँउपालिका वडा नम्बर १, छोटी चौफेरीकी १५ वर्षीया नन्की यादवलाई उपचारका लागि सीमावर्ती भारतीय बजार लगिएको डुडुवा गाउँपालिका अध्यक्ष
नरेन्द्रकुमार चौधरीले बताए ।
अध्यक्ष चौधरीले आगलागी पीडितलाई राहत वितरण गरिने जनाएकाछन् । घाईते नन्कीको पछाडी ढाड जलेकोछ । उनी रामखेलावन यादवकी छोरी हुन् । यस्तै बुधबार विहान आएको हावाहुरीसंगै परेको चट्याङले बाँकेकै खजुरा गाउँपालिका वडा नम्बर ६ सीमलघारीमा पनि आगलागी भएको छ ।
स्थानीय गोरख विकको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो । आगलागीबाट उनको घर जल्नुका साथै भण्डारण गरि राखेको अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । चट्याङबाट आगलागी भएको खबर पाउनसाथ स्थानीय, प्रहरी र नेपालगन्ज उपमहानगरपालिकाको दमकलको सहयोगले सवा १२ बजे आगो नियन्त्रणमा लिइएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्ष भेषबहादुर शाह, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कमलप्रसाद भट्टराई समेत घटना स्थलमा पुगी स्थलगत जाँचबुझ समेत गरेको थियो ।
चट्याङबाट भएको आगलागीका कारण बाँकेमा करिब ३१ लाख ३७ हजार पाँच सय मूल्यको नोक्सानी भएको बाँके प्रहरी प्रमुख अरुण पौडेलले बताए । गर्मी मौसममा हुनसक्ने आगलागीका घटनाहरु र सोबाट हुनसक्ने जनधनको क्षति न्यूनिकरणका लागि सर्तक र चनाखो हुन प्रहरीले आग्रह गरेकोछ ।