बाँके काँग्रेस निर्वाचन

देउवा समुहबाट सभापतिका दावेदारका पदाधिकारी र सदस्यको प्यानल एउटै


सेतोखरी सेतोखरी   बुधबार, फागुन ११, २०७८
देउवा समुहबाट सभापतिका दावेदारका पदाधिकारी र सदस्यको प्यानल एउटै

नेपालगन्ज ११ फागुन : नेपाली काँग्रेस बाँकेको १४ औं अधिवेशन अन्तरगत यही फागुन १५ गते हुने निर्वाचनका लागि संस्थापन (शेरबहादुर देउवा) पक्षबाट सभापति पदमा तीन जना दावेदारका पदाधिकारी र सदस्यहरुको प्यानल एउटै बनाइएकोछ ।

संस्थापन पक्षबाट सभापति पदमा(वर्णानुक्रम अनुसार) क्रमशः निरञ्जनसिंह सिजापति, बादशा कुर्मी र सुरेन्द्र हमालले उम्मेदवारी दिने भएका हुन् । नेपालगन्जस्थित पार्टी कार्यालयमा बुधबार एक औपचारिक कार्यक्रमका बीच पदाधिकारी र सदस्य पदका उम्मेदवार घोषणा गरिएको छ ।

काँग्रेसका नेता एवम् क्षेत्र नम्बर– १ का पुर्वसभापति माधवराम खत्रीले उम्मेदवारको नाम घोषणा गरे । देउवा प्यानलबाट उपसभापतिमा कृष्ण कार्की र सुदीपनरसिंह राणा, सचिवमा रबिन्द्र हमाल र सञ्जुकुमारी चौधरी, सह–सचिवमा पुरनसिंह ठकुरी र बिनोद थारुको नाम घोषणा गरिएको हो ।

घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस नेता खत्रीले देउवा प्यानलबाट सभापति पदमा तीन जना उम्मेदवार भएपनि पदाधिकारी र सदस्यको एउटै प्यानल बनाइएको बताए । प्यानलका उम्मेदवारलाई विजयी गराउन उनले सबैलाई आग्रह पनि गरे । घोषित उम्मेदवारहरु नेपाल बिद्यार्थी संघ हुदैँ पार्टीको राजनीतिमा रहेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

क्षेत्र नम्बर–२ का सभापति रमेश गुप्ताले देउवा प्यानलका उम्मेदवार योग्य र सक्षम रहेको बताए । ‘थोरै सिट भएको हुँदा सबै जना लड्न पाउनु भएन, राजनीति गर्ने मान्छे उत्तेजित हुनु हुदैन, राजनीति एक दिनको लागि हुदैन,’ उनले भने ।

क्षेत्र नम्बर–३ का सभापति नक्की खाँले देउवा प्यानलका उम्मेदवारलाई मतदान गरेर सहयोग गर्न आग्रह गरे । ‘अलिकति दुःख लागेको छ, सभापतिको उम्मेदवार एउटा बनाउन सकेनौं,’ उनले भने ‘सबैबाट पदाधिकारी र सदस्यको प्यानल एउटा बनाउन सुझाव आयो, त्यसकारण एउटै बनायौं, यो टिमलाई एक बनाउने काम गर्नुहुनेछ भन्ने विश्वास छ ।’

घोषणा कार्यक्रमलाई काँग्रेस बाँकेका पुर्वसभापति कृष्णमान श्रेष्ठ, काँग्रेस नेपालगन्ज नगर सभापति प्रशान्त विष्ट लगायतले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा ठुलो संख्यामा काँग्रेस नेता, कार्यकर्ता उपस्थित भएका थिए । काँग्रेस बाँकेको निर्वाचन यही फागुन १५ गते हुदैछ । निर्वाचनका लागि फागुन १२ गते बिहीबार (भोली) उम्मेदवार मनोनयन दर्ता गरिनेछ ।

यता संस्थापन इतरले भने दुई महिना अघि नै सभापति नारायण प्रसाद गौडेलको नेतृत्वमा पदाधिकारी घोषणा गरेको थियो । सदस्य पनि केही दिन अघि घोषणा गरिएको थियो ।