काँग्रेस बाँकेसहित १६ जिल्लाको अधिवेशन फेरि स्थगित, बाँकेमा उम्मेदवारी दर्ता आजै


काँग्रेस बाँकेसहित १६ जिल्लाको अधिवेशन फेरि स्थगित, बाँकेमा उम्मेदवारी दर्ता आजै

नेपालगन्ज १२ फागुन : नेपाली काँग्रेस बाँकेसहित १६ जिल्लाको अधिवेशन फेरि स्थगित गरिएको छ । काँग्रेसले बुधबार एक सूचना जारी गरी ती जिल्लाको अधिवेशन स्थगित गरेको हो । अब ती अधिवेशन फागुन २० गते हुने काँग्रेसले जनाएको छ ।

मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तु र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको काँग्रेसले जनाएको छ । फागुन १५ गते ती जिल्लामा अधिवेशन गर्ने काँग्रेसको कार्यतालिका थियो ।

यता केन्द्रिय निर्वाचन समितिको निर्णय अनुसार फागुन २० गते मतदान गर्ने गरी निर्वाचन कार्यक्रम संशोधन गरिएपनि उम्मेदवारी मनोनयन दर्ता भने आजै पूर्व निर्धारित मितिमै हुने नेपाली काँग्रेस बाँके निर्वाचन परिचालन कमिटीका सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिएका छन् । शाहीका अनुसार मनोनयन दर्ता आज दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ ।

नेपाली काँग्रेस बाँके अधिबेशनमा सभापतिमा संस्थापन इतरका नारायण प्रसाद गौडेलले र संस्थापन समूहबाट सुरेन्द्र बहादुर हमाल, निरञ्जन सिंह सिजापति, बादशाह कुर्मी र सुनिल नरसिंह राणा गरी ४ जनाले छुट्टाछुट्टै मनोनयन दर्ता गर्दैछन् ।

Kanti Aarogya Hospital Nepalgunj

मुलुकमा पछिल्लोपटक विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधीन राष्ट्रिय महत्वको अति संवेदनशील विषय तथा प्रतिनिधिसभाका सदस्यहरुलाई राजधानी बाहिर नजानका लागि पार्टी संसदीय दलद्वारा जारी गरिएको ह्वीपका कारण, जिल्ला अधिवेशनका प्रतिनिधि–संघीय संसदका सदस्यहरु जिल्ला अधिवेशनमा भाग लिन आ–आफ्नो जिल्लामा तत्काल जान असमर्थ रहेको अवस्थालाई मध्यनजर राखी यही २० गते सारिएको हो ।

जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्ला मध्ये संघीय संसदका सदस्य रहेका सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछाम जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचनका लागि निर्धारित २०७८ फागुन १५ गतेको मितिलाई, उक्त जिल्लामा खटिएका केन्द्रिय निर्वाचन समितिका प्रतिनिधि (निर्वाचन अधिकृत) र पार्टीको जिल्ला कार्यसमितिको सहमतिमा यही २०७८ फागुन २० गतेभित्र सम्पन्न गर्ने व्यवस्था मिलाइएको हो ।
यसअघि बुधबार नेपाली काँग्रेस बाँकेको निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको थियो ।

निर्वाचन कार्यक्रम अन्तरगत हिजो (बुधबार) दिउँसो २ बजेदेखी ५ बजेसम्म पार्टी कार्यालयमा उम्मेदवारी फाराम वितरण, फागुन १२ गते (आज) जिल्ला समन्वय समिति बाँकेमा बिहान ९ बजेदेखी दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता, सोही दिन दिउँसो २ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिने तालिकामा उल्लेख थियो ।

यस्तै दिउँसो २ः४५ देखी ३ः३० बजेसम्म उम्मेदवारीमाथी संसोधन दावी विरोध, बिहीबार दिउँसो ४ बजे दावी विरोधपछिको उम्मेदवारको संसोधित नामावली प्रकाशन गरिने तालिकामा उल्लेखछ ।

यसैगरी भोली फागुन १३ गते बिहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म उम्मेदवारी फिर्ता, सोही दिन बेलुका ४ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, फागुन १५ गते बिहान ९ बजेदेखी दिउँसो ३ बजेसम्म मतदान तोकिएको जिल्ला निर्वाचन अधिकृत उदयमणी आचार्यले जानकारी दिए ।

सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीका अनुसार मतदान लगत्तै मत गणना शुरु गरिनेछ । मतदानका लागि जिल्ला समन्वय समितिलाई केन्द्र तोकिएको शाहीले बताए ।