नेपालगन्ज १४ फागुन : नेपाली काँग्रेस बाँकेका वर्तमान उपसभापति समेत रहेका सुनिलनरसिंह राणाले आफ्नो उम्मेदवारी फिर्ता लिएकाछन् । नेपाली काँग्रेस बाँकेको १४ औं जिल्ला अधिवेशन अन्तरगत सभापति पदमा उम्मेदवारी दर्ता गराएका नेता राणाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
राणाले शनिबार अपरान्ह ४ः२५ बजे जिल्ला समन्वय समितिमा पुगेर आफ्नो सभापति पदको उम्मेदवारी मनोनयन फिर्ता लिएको जिल्ला निर्वाचन परिचालन समितिका सदस्य एवम प्रवक्ता अर्जुन ओलीले जानकारी दिएका छन् ।
उनको प्रस्तावकमा नवीन कुमार भट्ट र समर्थकमा युवराज शाह बसेका थिए । राणाले सभापतिसहित महासमिती सदस्यमा पनि उम्मेदवारी दर्ता गराएका थिए । सभापतिमै बादशा कुर्मी, सुरेन्द्रबहादुर हमाल र नारायणप्रसाद गौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै उप–सभापतिमा गोपालप्रसाद अधिकारी, राजकुमार मौर्य, सुदिपनरसिङ राणा र कृष्ण कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरि सचिवमा सुधान्सु कोइराला, टंकप्रसाद काफले (आशिस), रबिन्द्र हमाल र सन्जुकुमारी चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै सह–सचिवमा रेणुसिंह ठाकुर, बिश्वराज लम्साल, पुर्णकुमार सिंह ठकुरी (पुरन) र बिनोद थारुले उम्मेदवारी दर्ता गराए । आज(शनिबार) बिहान ९ बजेदेखी बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । आजै बेलुका ५ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन अधिकृत उदयमणी आचार्यले जानकारी दिए ।
निर्वाचन कार्यक्रम अन्तरगत मतदान भने फागुन १९ गते सम्पन्न गरिने जिल्ला निर्वाचन परिचालन समितिका सदस्य एवम प्रवक्ता ओलीले जानकारी दिए । उनका अनुसार जिल्ला समन्वय समिति बाँकेमै यही फागुन १९ गते बिहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म मतदान हुनेछ ।