बजार बन्द गराउँदै हिँड्ने पाँच जना पक्राउ, नेपालगन्जमा बन्दको प्रभाव शून्य


बजार बन्द गराउँदै हिँड्ने पाँच जना पक्राउ, नेपालगन्जमा बन्दको प्रभाव शून्य

नेपालगन्ज १६ फागुनः प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन भएपछि विभिन्न ८ दलले आज नेपाल बन्द आह्वान गरेकाछन् । बन्दका कारण यातायात, शैक्षिक संस्था, उद्योग, व्यवसाय लगायत ठप्प छ । तर, एमसीसीको विरोध गर्दै बाँकेमा बन्द गर्दै हिँडेका केही बन्दकर्तालाई प्रहरीले पक्राउ गरेकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी मधुसुदन न्यौपानेका अनुसार बाँकेमा सोमबार बन्द गर्दै हिँडेका ५ जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेको नाम भने प्रहरीले खुलाएको छैन् । संसदबाट एमसिसी पारित भएको विरोधमा विभिन्न साना ८ दलले आज बन्द आब्हान गरेका हुन् ।

नेत्रविक्रम चन्द, मोहन वैद्य, सिपी गजुरेल, चित्रबहादुर केसी, मोहनविक्रम सिंह, ऋषि कट्टेल, आहुती, कर्णजीत बुढाथोकी नेतृत्वको पार्टीले नेपाल बन्द आह्वान गरेका छन् । प्रहरीका अनुसार बन्दको बाँकेमा खासै प्रभाव परेको छैन । पूर्वपश्चिम महेन्द्र राजमार्गमा बन्दको आंशिक प्रभाव परेता पनि यता नेपालगन्जमा भने बन्दको कुनै प्रभाव परेको छैन ।

नेपालगन्जका अधिकांश पसल, व्यवसाय, होटल, रेष्टुरेण्ट सञ्चालनमा आएकाछन् । छोटो दूरीका निजी तथा केही सार्वजनिक सवारीसाधन निर्वाधरुपमा सञ्चालनमा रहेकाछन् । नेपालगन्जको त्रिभुवन चोक, सदरलाई, भेरी अस्पताल, न्यूरोड, घरबारी टोल, पुष्पलाल चोक, धम्मबोझी लगायतका बजार क्षेत्र सञ्चालनमा आएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला प्रशासन कार्यालय, भूमि तथा मालपोत कार्यालय, नापी कार्यालय, अदालत, नगरपालिका लगायतका सरकारी कार्यालयहरुले सेवा निर्वाधरुपमा सेवा प्रवाह गरिरहेकाछन् । यी कार्यालयहरुमा सेवाग्राहीको उपस्थिती सामान्यरुपमा घटेपनि बन्दको खासै प्रभाव परेको छैन ।

नेपाल बन्द आह्वान गरिएपछि हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै यी क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाएकोछ ।