नेपालगन्ज १९ फागुन : नेपाली काँग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न यतिबेला मतदान जारी छ । नयाँ नेतृत्व चुन्न विहान सवा ९ बजेदेखि जिल्ला समन्वय समिति बाँकेको सभा हलमा मतदान भइरहेकोछ । मतदानमा हालसम्म ५९० बढि मत खसिसकेको छ । मतदाताहरु अहिले मतदान स्थलमा लाइनबद्ध भएर बसेका छन् ।
काँग्रेस बाँकेको नयाँ नेतृत्वका लागि जिल्लाका तीन जना नेताबीच कडा प्रतिस्प्रर्धा हुँदैछ । संस्थापन (शेरबहादुर देउवा) पक्षबाट २ जना र संस्थापन इतर (शेखर कोइराला) पक्षबाट १ जना गरि तीन जना नेताबीच त्रिपक्षिय कडा प्रतिस्प्रर्धा भइरहेकोछ । सभापतिमा आफ्नो वर्चश्व कायम गर्न र मतदातालाई फकाउन सभापतिका दावेदार तीनैजना लागि परेकाछन् ।
संस्थापन (शेरबहादुर देउवा) पक्षबाट सभापति पदमा सुरेन्द्रबहादुर हमाल र बादशाह कुर्मी निर्वाचन मैदानमा उत्रेका छन् भने संस्थापन इतर (शेखर कोइराला) पक्षबाट एक जना नारायणप्रसाद गौडेल प्रतिस्प्रर्धामा उत्रेकाछन् । यी तिनै जनाले आ–आफ्नो मत हालिसकेकाछन् ।
सभापतिका उम्मेदवार कुर्मीको प्रस्तावकमा मो. नक्की खाँ र ज्ञानबहादुर ओली समर्थक बसेका छन् । हमालको प्रस्तावकमा नरेन्द्र थापा र समर्थकमा रोशनकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । भने गौडेलको प्रस्तावकमा पोषण केसी र समर्थकमा किरण कोइराला रहेका छन् ।
सभापति बाहेक काँग्रेस बाँकेको निर्वाचनमा दुई उपसभापति पदका लागि गोपालप्रसाद अधिकारी, राजकुमार मौर्य, सुदीपनरसिङ राणा र कृष्ण कार्की चुनावी मैदानमा छन् ।
यसैगरि दुई सचिव पदमा सुधान्सु कोइराला, टंकप्रसाद काफले (आशिस), रबिन्द्र हमाल र सञ्जुकुमारी चौधरी भिड्दैछन् । यस्तै सह–सचिवमा रेणुसिंह ठाकुर, बिश्वराज लम्साल, पुर्णकुमार सिंह ठकुरी (पुरन) र बिनोद थारुबीच प्रतिस्प्रर्धा हुँदैछ ।
यसैगरी सदस्यहरुमा भुगोलतर्फ नेपालगन्ज उपमहानगरपालिकाबाट–१० जना, कोहलपुर नगरपालिकाबाट–६ जना, राप्तीसोनारी गाउँपालिकाबाट –४ जना, नरैनापुर गाउँपालिकाबाट – ४ जना, डुडुवा गाउँपालिकाबाट–२ जना, बैजनाथ गाउँपालिकाबाट– ४ जना, खजुरा गाउँपालिकाबाट– ५ जना, जानकी गाउँपालिकाबाट– ४ जना र समावेश सदस्यमा– २७ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै महासमिति सदस्यमा क्षेत्र नम्बर– १ बाट १९ जना, क्षेत्र नम्बर– २ बाट १९ जना र क्षेत्र नम्बर– ३ बाट १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनमा १४ सय ९३ मतदाता छन् ।
यी भए निर्विरोध
नेपाली काँग्रेस बाँकेको जिल्ला कार्यसमिति सदस्यमा ५ जना निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचिन अधिकृत उदयमणी आचार्यका अनुसार जिल्ला सदस्यमा भुगोलतर्फ डुडुवा गाउँपालिकाबाट कुन्नीकुमारी कलवार (भुगोल महिला खुल्ला) र खेमनाथ अधिकारी (भुगोल खुल्ला) निर्वाचित भइसकेका छन् ।
यस्तै बैजनाथ गाउँपालिकाबाट कोकिला शर्मा (भुगोल महिला खुल्ला), समावेशीतर्फ अपांगता कोटाबाट अमृतकुमार आचार्य र थारु महिला कोटाबाट लालतादेवी थारु निर्विरोध निर्वाचित भइसकेकाछन् ।
यसैगरी महासमिति सदस्यमा क्षेत्र नम्बर–१ बाट मधेसी कोटामा कृष्णचन्द्र मौर्य र मुस्लिम कोटामा ईशाक जोलाह निर्वाचित भइसकेका छन् । भने क्षेत्र नम्बर–२ बाट महासमिति सदस्यमा खुल्ला महिला कोटाबाट भारती जोशी र माया पुन तथा दलित कोटाबाट मैकुलाल बाल्मिकी र मुस्लिम कोटाबाट निजामुद्धिन अन्सारी (छोड्काउ) पनि निर्विरोध निर्वाचित भइसकेका छन् । बाल्मिकी काँग्रेसको केन्द्रीय सदस्य पनि हुन् ।
त्यसैगरी महासमिति सदस्यमा नै खसआर्य तर्फबाट युवराज शर्मा, मधेसी कोटाबाट दुखीराम लोनिया, दलितबाट आशा बिक र थारु कोटाबाट चन्तराम थारु निर्विरोध निर्वाचित भइसकेकाछन् । उनीहरु चारै जना क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित भएका शर्मा राष्ट्रिय सभाका सदस्य हुन् ।
यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधीमा अपांगता कोटाबाट गोकर्णप्रसाद आचार्य र प्रदेश महाधिवेशन प्रतिनिधीमा अपांगता कोटाबाटै जंगबहादुर डाँगी निर्विरोध निर्वाचित भइसकेका छन् ।
काँग्रेस बाँके निर्वाचनमा निर्विरोध हुन नसकेका अन्य उम्मेदवारवीच आज निर्वाचनमा प्रतिस्पर्धा भइरहेकोछ । काँग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने हुन्छ भने अन्य पदमा बढी मत ल्याउने निर्वाचित हुनेछन् । मतदान लगत्तै सभापतिको मगगणना शुरु हुने जनाइएको छ ।
थप समाचार