काँग्रेस बाँके निर्वाचन

सभापतिका तीनैजना उम्मेदवारले मतदान गरे, हेर्नुस काँग्रेस बाँके निर्वाचन झलक


सभापतिका तीनैजना उम्मेदवारले मतदान गरे, हेर्नुस काँग्रेस बाँके निर्वाचन झलक

नेपालगन्ज १९ फागुन : नेपाली काँग्रेसको १४ औं अधिवेशन अन्तरगत बाँकेमा यतिबेला नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । जिल्ला समन्वय समितिको सभा हलमा बिहीबार विहान सवा ९ बजेबाट मतदान शुरु भएको हो । मतदान अपरान्ह ४ बजेसम्म चल्ने जिल्ला निर्वाचन अधिकृत उदयमणी आचार्यले जानकारी दिए ।

निर्वाचन सम्पन्न गर्नका लागि करिव एक सय जना निर्वाचन कर्मचारी तथा ६० जना सुरक्षाकर्मी परिचालित भएका छन् ।

जिल्ला समन्वय समिति परिसरमा मतदान केन्द्रको सुरक्षा गर्ने जिम्मा जिल्ला प्रहरी कार्यालय बाँकेले लिएको छ । मतदानमा जिल्लाका कुल १ हजार ४ सय ९३ जना मतदाता(क्षेत्रीय प्रतिनिधी)ले मतदान गर्नेछन् ।

Kanti Aarogya Hospital Nepalgunj

काँग्रेस बाँकेको नयाँ नेतृत्वका लागि जिल्लाका तीन जना नेताबीच कडा प्रतिस्प्रर्धा हुँदैछ । संस्थापन (शेरबहादुर देउवा) पक्षबाट २ जना र संस्थापन इतर (शेखर कोइराला) पक्षबाट १ जना गरि तीन जना नेताबीच त्रिपक्षिय कडा प्रतिस्प्रर्धा भइरहेकोछ । सभापतिमा आफ्नो वर्चश्व कायम गर्न र मतदातालाई फकाउन सभापतिका दावेदार तीनैजना लागि परेकाछन् ।

संस्थापन (शेरबहादुर देउवा) पक्षबाट सभापति पदमा सुरेन्द्रबहादुर हमाल र बादशाह कुर्मी निर्वाचन मैदानमा उत्रेका छन् भने संस्थापन इतर (शेखर कोइराला) पक्षबाट एक जना नारायणप्रसाद गौडेल प्रतिस्प्रर्धामा उत्रेकाछन् । यी तिनै जनाले आ–आफ्नो मत हालिसकेकाछन् ।

सभापतिका उम्मेदवार कुर्मीको प्रस्तावकमा मो. नक्की खाँ र ज्ञानबहादुर ओली समर्थक बसेका छन् । हमालको प्रस्तावकमा नरेन्द्र थापा र समर्थकमा रोशनकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । भने गौडेलको प्रस्तावकमा पोषण केसी र समर्थकमा किरण कोइराला रहेका छन् ।

मतदानमा हालसम्म (अपडेट २ बजे) कुल मतदाता १४९३ मा दिउँसो १ः४५ बजेसम्म सभापति पदमा ९९८ मत खसेकोछ । भने पदाधिकारी, सदस्य र महासमिति सदस्यमा ९१० मत खसेकोछ ।   मतदाताहरु अहिले मतदान स्थलमा लाइनबद्ध भएर बसेका छन् । सभापति बाहेक काँग्रेस बाँकेको निर्वाचनमा दुई उपसभापति पदका लागि गोपालप्रसाद अधिकारी, राजकुमार मौर्य, सुदीपनरसिङ राणा र कृष्ण कार्की चुनावी मैदानमा छन् ।

यसैगरि दुई सचिव पदमा सुधान्सु कोइराला, टंकप्रसाद काफले (आशिस), रबिन्द्र हमाल र सञ्जुकुमारी चौधरी भिड्दैछन् । यस्तै सह–सचिवमा रेणुसिंह ठाकुर, बिश्वराज लम्साल, पुर्णकुमार सिंह ठकुरी (पुरन) र बिनोद थारुबीच प्रतिस्प्रर्धा हुँदैछ ।

यसैगरी सदस्यहरुमा भुगोलतर्फ नेपालगन्ज उपमहानगरपालिकाबाट–१० जना, कोहलपुर नगरपालिकाबाट–६ जना, राप्तीसोनारी गाउँपालिकाबाट –४ जना, नरैनापुर गाउँपालिकाबाट – ४ जना, डुडुवा गाउँपालिकाबाट–२ जना, बैजनाथ गाउँपालिकाबाट– ४ जना, खजुरा गाउँपालिकाबाट– ५ जना, जानकी गाउँपालिकाबाट– ४ जना र समावेश सदस्यमा– २७ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै महासमिति सदस्यमा क्षेत्र नम्बर– १ बाट १९ जना, क्षेत्र नम्बर– २ बाट १९ जना र क्षेत्र नम्बर– ३ बाट १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।